टिंकर नाका खुल्ने समय धकेलियो

टिंकर नाका खुल्ने समय धकेलियो

नेपाल र चीन बीचको टिंकर सिमानाका खुल्ने समयतालिका दुई हप्तापछि धकेलिएको छ । जुन २५ अर्थात् असार ११ गतेदेखि खुल्ने भनिएको नाका केही प्राविधिक तयारी पूरा नभएको भन्दै चिनियाँ पक्षले आगामी जुलाई १० अर्थात् असार २६ गतेदेखि खोलिने जानकारी दिएको छ । यसअघि जेठ १७ गते दार्चुला र चीनको ताक्लाकोटस्थित स्थानीय अधिकारीबीच भएको भर्चुअल बैठकमा असार ११ देखि नाका खोल्ने सहमति भएको थियो ।

आफ्नोतर्फ केही प्राविधिक तयारी पूरा नभएकाले जुलाई १० देखि मात्रै नाका खोल्ने जानकारी चिनियाँ पक्षले दिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । ‘असार ११ गतेका लागि निर्धारित कार्यक्रम जुलाई १० अर्थात् असार २६ का लागि सारिएको छ, यसबारे गृह र परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेका छौ’ उहाँले भन्नुभयो ।

नाका खोल्ने पूर्वतालिकाअनुसार दार्चुलाका प्रजिअसहित सुरक्षा अधिकारीहरूले ताक्लाकोट जाने तयारी गरेका थिए । नेपाली सेनाबाहेक सबै सुरक्षा निकाय र सीमा प्रशासन कार्यालयका प्रमुखको टोली असार ९ गते सदरमुकामबाट जाने तयारी थियो । चीनले टिंकर भञ्ज्याङस्थित १ नम्बर सीमास्तम्भ नजिकसम्म सडक निर्माण गरेको छ । कोभिड महामारीको समयमा निर्माण भएको सडक केही हप्ताअघि स्काभेटर प्रयोग गरी खोलिएको छ । सीमास्तम्भभन्दा आधा घण्टाको दूरीमा आफ्ना सुरक्षाकर्मी बस्ने भवनको संरचना पनि निर्माण गरेको छ । सुरक्षाकर्मीको भवन र पोष्टको संरचनामा यात्रुलाई चेकजाँच गर्ने मेसिन र उपकरण जोड्न बाँकी रहेकोले नाका खोल्न ढिलाइ भएको स्रोतले बतायो ।

ताक्लाकोट बजारस्थित बोर्डर मार्केट कम्प्लेक्समा हुम्लाका व्यापारी बस्दै आएका छन् । असार ८ गते ताक्लाकोटस्थित सयभन्दा बढी नेपाली व्यापारीको बैठक राखेर चिनियाँ प्रशासनले दार्चुलाका व्यापारी आउने तयारी भइरहेको जानकारी दिएको छ । बोर्डर मार्केट कम्प्लेक्समा दार्चुलाका व्यापारीका लागि छुट्याइएका सटर तत्काल खाली गरिदिन पनि उताको प्रशासनले नेपाली व्यापारीलाई भनेको छ ।

नेपालतर्फ व्यास गाउँपालिका–१ टिंकरको छियालेकमा सशस्त्र प्रहरीको विओपी र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय सञ्चालित छ । छियालेकबाट ५ घण्टाको दूरीमा रहेको १ नम्बर पिलर क्षेत्रमा नेपालका सुरक्षाकर्मीले नियमित गस्ती गर्दै आएका छन् । 

टिप्पणीहरू