रातारात यसरी प्रधानमन्त्री बनाइन्छन् नेताहरू

रातारात यसरी प्रधानमन्त्री बनाइन्छन् नेताहरू

केपी शर्मा ओलीद्वारा विघटित प्रतिनिधिसभा पुनस्र्थापित गराई ‘ड्यामेज कन्ट्रोल’ गर्ने विभिन्न विकल्पमाथि छलफल हुँदा उपेन्द्र यादवको जसपाले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार गठनको आह्वान गरेको भोलिपल्ट हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपेन्द्रले यसबारे छलफल चलाएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवासमेत सहमत रहेको भनिएको सो प्रस्तावअनुसार एमालेतिर लागिसकेका महन्थ पनि मोडिए । तर, लगत्तै भारतीय दूतावास छिरेपछि मन फेरेका उनी एमालेसँग सहकार्य तोड्न तयार भएनन् । भारतीयहरूले देउवालाई नै अघि सार्न बल गरेपछि महन्थले मन फेरेको चर्चा चल्यो । परिणामतः सर्वोच्च अदालतको परमादेशबाट देउवा नै प्रधानमन्त्री नियुक्त भए । 

तीन वर्ष पुरानो यो सन्दर्भ जसपाको पछिल्लो फुटसँगै चर्चामा आएको छ । दक्षिणको समर्थन लिएर आफू प्रधानमन्त्री हुन उपेन्द्रले चलखेल तीव्र बनाएकाले त्यसलाई निस्तेज पार्न बालुवाटार, बालकोट र बहादुर भवनको सेटिङमा जसपा विभाजन गराइयो भनिएको छ  । तर, तीन वर्षअघि महन्थलाई प्रधानमन्त्री बनाउन नचाहेको भारत यसपटक उपेन्द्रका लागि तयार भएको भन्ने प्रचारबाजीमा जसपाकै नेताहरूलाई पनि विश्वास छैन । उपेन्द्र कहिल्यै दक्षिणको पहिलो रोजाईका पात्र होइनन् । जबकि लैनचौरले सबैभन्दा बढी विश्वास गर्ने थोरै नेपाली नेतामध्येका मानिन्छन्– महन्थ ।

त्यसोभए के जसपा विभाजन ऊभित्रको आन्तरिक असन्तुष्टिको परिणाम मात्र हो ? सरकारमै रहेको दलका अध्यक्ष उपप्रधानमन्त्रीको हैसियतमा विदेश गएका बेला फुट्नुमा सत्ता राजनीतिको दाउपेच छँदै थिएन ? वैशाख २३ गते अशोक राईको नेतृत्वमा प्रतिनिधिसभाका सात सांसद नयाँ दल दर्ताका लागि निवेदन लिएर निर्वाचन आयोगमा पुग्दासम्म उक्त पार्टी फुट्दैछ भन्ने सामान्य अनुमानसमेत गरिएको थिएन । आन्तरिक असन्तुष्टि अलिअलि देखिए पनि उपेन्द्र विदेश रहेका बेला पार्टी टुक्रिनेसम्मको चलखेलको छनक नपाएका एक उच्चपदस्थ नेता भन्छन्– सबै काम अन्तिम घडीमा गरियो । त्यसभित्रका अन्तरकथाको पनि उनले खुलासा गरेका छन् । 

बताइएअनुसार दुई दिनअघिसम्म स्वयं अशोक राईलाई समेत ‘पार्टी फुट्ने’ अन्दाज थिएन । तथापि मोहमद इस्तियाक राइन र प्रदिप यादव चाँजोपाँजो मिलाउन भित्रभित्रै सक्रिय भने थिए । उपेन्द्रको ‘तेजोबध’ गर्ने अभियानमा रहेका यी दुईले शुरुमा मधेसका पाँच सांसदलाई एकताबद्ध गराए । निर्वाचन आयोगमा जानु एक दिनअघि अशोकलाई भेटेर दुईजना (अशोक र सुशीला) थपिए संख्या पुग्ने हिसाब सुनाइयो । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई यसबारे ब्रिफिङ्ग गरिएको र बालुवाटारबाटै पार्टी विभाजनको रणनीति बनेको उपेन्द्र निकट ती नेताको दाबी छ । 

निर्वाचन आयोगमा निवेदन लैजानुअघि अशोकसहितका नेताहरू बालुवाटार पुगेर सत्तामा हिस्सेदारीबारे थप प्रष्ट भए । प्रधानमन्त्रीबाट सरकारमा सामेल गराउने प्रतिबद्धता जनायो भने दल विभाजनसम्बन्धी कानुन निस्क्रिय रहेको अवस्थामा निर्वाचन आयोगसँग समन्वय गर्ने काम एमाले अध्यक्षले गरे । यसमा थप प्रष्ट हुन निर्वाचन अनुगमनका लागि भारत जान लागेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बोलाएर छलफल गर्ने काम भयो । जसपा स्रोतको दाबी मान्ने हो भने उनलाई भारत भ्रमण रोक्नसमेत आग्रह गरिएको थियो । निर्वाचन अनुगमनमा जाने कार्यक्रम पूर्वनिर्धारित भएकाले रोक्न नमिल्ने तर आफ्नो अनुपस्थितिमा पनि आयोगबाट हुनुपर्ने सहयोगमा तल–माथि नपर्ने प्रतिबद्धता जनाएपछि अशोकहरूलाई ‘गो अहेड’ भनियो । 

जसपा विभाजन र त्यसपछिको घटनाक्रम विश्लेषण गर्दा पर्दापछाडि भएको भनिएको यो खेल सत्यको नजिक देखिन्छ । किनभने दल विभाजनसम्बन्धी ऐन नभएको अवस्थामा निर्वाचन आयोगले निवेदन दर्ता भएको भोलिपल्टै विभाजनलाई मान्यता दिएको थियो । जबकि पार्टी फुटजस्तो गम्भीर र संवेदनशील विषयमा यसअघि आयोगले हतार गरेको बिरलै दृष्टान्त छ । अर्कोतिर प्रधानमन्त्री र एमाले अध्यक्षले सार्वजनिक मञ्चबाटै जसपा विभाजनमा आफूहरूको भूमिका रहेको घुमाउरो स्वीकारोक्ति गरेका छन् । उपेन्द्रले हालेको रिटलाई सर्वोच्च अदालतले अल्झाउँदै जानुले पनि आशंका बढाएकै छ ।

सिङ्गै राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने दल विभाजनको मुद्दामा सर्वोच्च अदालतको उदासीनता आफैंमा शंकास्पद छ नै । प्रारम्भिक सुनुवाईपछि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिएको अदालत त्यसपछि किन लगातार पेशी सारिरहेको छ ? कानुनविहीनताको अवस्थामा पार्टी विभाजनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजयोग्य रहेकाले अदालत पन्छिन खोजेको त होइन ? यस्ता प्रश्न उठिरहँदा सरकार र एमाले दुबैलाई अप्ठेरो नपार्न अदालत प्रयोग भएको जसपाका नेताहरूले अनुमान गरेका छन् । 

शुरुमा उपेन्द्रले बाह्य शक्तिको चलखेलको आशंका पनि गरेका थिए । अहिले भने ‘साउथ ब्लक’ संस्थागतरुपमै आफ्नो पार्टी टुक््रयाउने खेलमा नलागेको निश्कर्षमा पुगेका छन् । प्रदिप यादवले व्यक्तिगत सम्बन्धका आधारमा वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतलाई प्रभाव पारेको र त्यहाँबाट केही सांसदलाई फोन गराएर मनोवैज्ञानिक दबाब दिएको प्रमाण भने उपेन्द्रसम्म पुगेको छ । 

एमालेलाई संसद्को सबैभन्दा ठूलो पार्टी बनाउने केपी ओलीको रणनीतिअन्तर्गत एमाले पृष्ठभूमिका अशोकको नेतृत्वमा जसपा फुटाइएको हो । आफ्नो सत्ता निरन्तरताको सुनिश्चितता खोजेका प्रधानमन्त्री प्रचण्डको स्वार्थ त्यसमा जोडिएको छ । भनिंदैछ, आगामी चुनावमा सुशीला श्रेष्ठलाई टिकट दिने बालकोटको बचनमा विश्वस्त अशोक जुनसुकै बेला एमालेमा मिसिने तयारीमा छन् । मन्त्री पाएर मख्ख प्रदिप यादव र गत चुनावमै एमालेसँग तालमेल गर्नुपर्ने पक्षमा पार्टीभित्र बहस छेडेका इस्तियाकको उनलाई बलियो समर्थन छ ।

२०६४ को संविधानसभा निर्वाचनपछि आन्दोलनको रापतापबाट एकाएक उदाएको जसपाको शक्ति पछिल्लो समय खस्कँदो अवस्थामा छ । अध्यक्ष उपेन्द्रको एकलौटीविरुद्ध बिद्रोह भनिए पनि जसपामा राजनीतिक भविश्य सुरक्षित नदेखेपछि एकथरी नेता मूलधारको पार्टीमा मिसिने उपायको खोजीमा थिए । प्रदिप र इस्तियाकले केही पहिलेबाटै यसको अगुवाई गरिरहेको उपेन्द्रलाई पनि थाहा थियो । अहिले निरन्तर बालकोटको सम्पर्कमा रहेका उनीहरूको ढिलोचाँडो गन्तव्य एमाले नै हो भन्छन् उपेन्द्र निकट नेताहरू ।   

जसपा नेपालका एक नेताका अनुसार इस्तियाक त गत चुनावमै एमालेमा जान कस्सिएका थिए । बाँके–२ बाट अघिल्ला चुनाव जित्दै आएका उनी यसपटक राप्रपाका धवलसमशेरसँग पराजित भए । त्यतिबेला जसपाले कांग्रेससहितको गठबन्धन छोड्ने निर्णय नगर्दै उनी एमालेसँग मिल्नुपर्ने लाइनमा थिए । तत्कालीन पाँचदलीय गठबन्धनबाट सिट भागबण्डामा चित्त नबुझाएका उपेन्द्रले देशभर एमालेसँग तालमेल गर्ने निर्णय गरे पनि बाँके–२ मा भने कायम भएन । त्यसअघि नै राप्रपासँग मिलेर चुनाव लड्ने सहमति गरेको एमालेले उक्त सिट धवलका लागि छुट्याएपछि एक्लै प्रतिष्पर्धा गरेका इस्तियाक ६ हजार बढी मतान्तरले पराजित भए । उपेन्द्रले ठीक समयमा निर्णय लिन नसकेका कारण हार्नुपरेको निश्कर्ष निकालेका उनी त्यसबेलादेखि नै एमालेसँग नजिकिएको बताइन्छ । 

प्रदिप यादवले भने पर्सा–१ बाट एमालेको सहयोगमा जितेका हुन् । पर्सा जसपाको प्रभाव क्षेत्र हो । प्रतिनिधिसभातर्फ यहाँका चारमध्ये जसपा र कांग्रेसले दुई–दुई सिट जितेका छन् । वीरगञ्ज महानगरको मेयर पनि जसपाले नै जितेको हो । मधेसमा फुटको ठूलो असर नपरे पनि मेयर राजेशमान सिंह विभाजित पार्टीमा लागेकाले सहज ठानेका प्रदिप एमालेमा जाँदा सजिलै चुनाव जितिन्छ भन्नेमा देखिन्छन् । 

तर, जसपा फुटले अदालतबाट मान्यता नपाए के होला ? भन्ने प्रश्न यथावत रहँदा सत्ता समीकरणको निरन्तरतामाथि उठेका आशंका अझै मेटिएको छैन । सात सांसद रहेको अशोकको पार्टी अस्तित्वमा रहँदासम्म समीकरण बदलिने देखिंदैन । तर, अदालतले दल विभाजनको निर्णय खारेज ग¥यो भने सरकारले बहुमत गुमाउन सक्छ । त्यस्तो अवस्थामा संसद स्थगित गरी अध्यादेशबाट दल विभाजनसम्बन्धी ऐन ल्याएर सम्भावित खतरा टार्ने अर्को खेल शुरु हुन सक्छ । तर, पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याउँदा प्रधानमन्त्रीकै दल माओवादी केन्द्रसमेत जोखिममा पर्ने देखिन्छ । 

अर्कोतिर, रास्वपाका मन्त्रीहरूले ‘राजीनामा खल्तीमा हालेर हिँडेका छौँ’ भनी असन्तुष्टि पोखिरहेको स्थिति छ । सभापति रवि लामिछानेलाई परेको अप्ठेरोका कारण सरकारमै टाँसिन बाध्य सो पार्टीभित्र व्यक्तिको बदमासीको भारी कहिलेसम्म बोक्ने भन्ने तहमा बहस शुरु भएको देखिन्छ । यो सबै परिस्थितिमा अदालतले उपेन्द्रलाई जिताइदिए वैकल्पिक सरकार गठनको सम्भावना फेरि ब्युँतिने छ । कांग्रेसमार्फत दक्षिणको छिमेकीले पहल गरिदिए परिस्थिति उल्ट्याउन सकिने विश्वासमा रहेका एकथरीले भित्रभित्रै छलफलसमेत चलाइरहेको दाबी गरिएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू