एमसीसी र बिआरआईको भेद छुट्याउन माग

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले एमसीसी परियोजनालाई अमेरिकी साम्राज्यवादको पासोको संज्ञा दिएका छन् । 

आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले नेपाललाई चीनविरोधी अखडा बनाउनका लागि अमेरिकी योजनामा एमसीसी परियोजना ल्याइएको दाबीसमेत गरे । चिनियाँ परियोजना बिआरआईको चर्को बिरोध गरेर एमसीसीलाई थप बलियो बनाउने षड्यन्त्र भैरहेको भन्दै केसीले यी दुबै परियोजनाबारे स्पस्ट पार्न सरकारसँग मागसमेत गरेका छन् । 

संसदबाट एमसीसी पारित हुनेक्रममा अहिले सत्तामा रहेकै दलहरुले विरोध गरेको जनाउँदै उनले सोधे, 'अहिलेकै सत्ताधारी साथीहरुले एमसीसी ल्याउँदाखेरी, अमेरिकनहरुले एमसिसीको भारी बोकाउँदाखेरी धुन्धान बिरोध गरेको होइन ? हामी सत्तामा बस्ने छैनौँ । हामी राजनीति गर्ने छैनौँ भनेर नेपाली जनताको अगाडी उफ्रेको होइन ? आखिरी कथित १२ बुँदेको जामा लगाएर छल, कपट गरेर, षड्यन्त्र गरेर, अमेरिकी साम्राज्यवादको पासो नेपाली जनतालाई बोकाएको हो कि होइन ?' 

'नेपालको सन्दर्भमा यदि त्यो बिआरआईको ऋण चर्को ऋण हो भने यतिबेला एमसीसीलाई बलियो बनाउँदै लाने । एमसीसी भनेको नेपाललाई इण्डोप्यासिफिक रणनीतिभित्र सामेल गरेको होइन ? अमेरिकाले चीनसँगको प्रतिस्पर्धामा नेपाललाई उपयोग गर्नका लागि एमसीसी बोकाएको होइन ? यो कुरा बुझ्दैनौँ हामीले ?'. उनको थप प्रश्न छ । 

केही नेताहरुले बिआरआई स्वीकार गरे नेपाल चिनियाँ ऋणमा डुब्छ भन्ने भाष्य स्थापित गरेर एमसीसीलाई बलियो बनाउन खोजेको उनको आरोप छ । बिआरआई र एमसीसी परियोजनालाई एकै ठाउँमा राखेर तुलना गर्नै नहुनेमा केसीले जोड दिए ।

'देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि सौदाबाजी गरेर सत्ताधारीहरुले जुनखालको राष्ट्रघात गरिराखेका छन्, यसमा एमसीसी र बिआरआईबीचको अन्तर के हो ? त्यो नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ', उनले भने, 'गुमराह गरेर एमसीसीको पक्षमा नेपाललाई दुर्घटनामा पार्ने र चीनविरोधी अखडा नेपाललाई अमेरिकाले गराउने षड्यन्त्रमा नेपाली जनता सजग हुनुपर्छ ।'

अहिले नेपालले बोकेको २४ खर्ब ऋण बिआरआईको पैसाले हो ? भन्दै आक्रोश पोखेका केसीले यसमा स्पष्ट पार्न माग गरे ।

टिप्पणीहरू