सिन्धुपाल्चोकतिर बढ्दो चिनियाँ चासो

सिन्धुपाल्चोकतिर बढ्दो चिनियाँ चासो

एउटा विकट गाउँ । जहाँ उत्तरतिर टलक्क टल्केको हिमाल देखिन्छ । पश्चिमतिर हस्याङफस्याङ गर्दै बगेको नदी अनि हरियाली डाँडाकाँडाका बीच भव्य रातो भवन । त्यो देख्दा जो कसैलाई लाग्न सक्छ यो कुनै सुविधासम्पन्न फाइभस्टार होटल हो । तर यो सिन्धुपाल्चोक जिल्लाकै कर्णाली भनेर चिनिने जुगल गाउँपालिकामा निर्मित एउटा विद्यालय हो । जुगल हिमाललाई शीरमा राखेर अविरल ब्रह्मायणीसँग सुसेल्दै गरेको गाउँपालिका आफैमा पर्यटकीय संभावना बोकेको पर्यटकीय पालिका पनि हो । 

पछिल्लो समय चीन सरकारले सिन्धुपाल्चोकमा विकासका गतिविधिलाई तीव्र पारेको छ । यसैको एउटा स्वरूप हो बराम्चीस्थित रत्नराज्य माध्यमिक विद्यालय भवन । चीन सरकारको आर्थिक सहयोगअन्तर्गत सिन्धुपाल्चोकमा शिक्षा, स्वास्थ्य, पूर्वाधार र जनजीविकाका लागि अर्बौं रकम बराबर ठूलो तथा साना आयोजना सम्पन्न भइसकेको छ र यो विद्यालय भवन पनि त्यसैको उदाहरण हो ।

२०७२ साल वैशाख १२ गतेको महाभूकम्पले ध्वस्त रत्नराज्य माध्यमिक विद्यालयको भवन निर्माणबाट शुरु भएको श्रृंखलाबद्ध सहयोग यतिखेर दर्जनभन्दा बढी नाघिसकेको छ । झण्डै १ अर्ब नेपाली रूपैयाँँ खर्च गरेर बनाइएको यो विद्यालय भवन जिल्लाकै नमुना विद्यालय बन्न सफल छ । हुन त भूकम्पले ध्वस्त भएका विद्यालय संरचना पुनर्निर्माणमा धेरै वैदेशिक सहयोग प्राप्त भएका छन् तर ती सहयोगबाट अधिकांश भवन मात्र ठडिएका छन् । विद्यालयलाई आवश्यक खानेपानी, शौचालय, बिजुलीबत्ती, साइन्स ल्याब, पुस्तकालय, कम्प्युटर कक्ष र त्यसलाई आवश्यक सामग्री मात्र हैन, फर्निचर, पोडियमजस्ता सामग्री पनि चीन सरकारले नै उपलब्ध गराउँदै आएको छ ।

यसअघि नै चीन र नेपालबीचको ब्यापारिक तातोपानी नाकास्थित लार्चामा सुख्खा बन्दरगाह निर्माण थालिएको थियो । ०६९ पुस ५ गतेबाट थालेर १ अर्ब २० करोड नेपाली रूपैयाँँ लागतमा निर्माण भएलगत्तै तातोपानी नाका क्रमशः सञ्चालनमा आएको हो । उक्त बन्दरगाह ११ करोड ७० लाखमा ट्रान्स सिल्क टर्मिनल्स प्रालिसँग सम्झौता गर्दै २०७९ भदौ २९ गतेबाट सञ्चालित छ ।

भुइँचालोले नै धराशायी बनाएको सदरमुकामस्थित चौतारा अस्पतालको चर्चा पनि यतिखेर चुलिएको छ । १८ महिनाकै छोटो अवधिमा निर्मित अत्याधुनिक यो अस्पतालको जेठ १६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरिसकेका छन्् । यो भवनका लागि स्वास्थ्य सामग्री, मेशिनरी औजार, यन्त्र मात्र हैन फर्निचरसमेत चीन सरकारले नै उपलब्ध गराएको छ । झण्डै १ अर्ब १५ करोड रूपैयाँँ अनुदानमा बनेको चित्ताकर्षक चौतारा अस्पतालबाट भने चीन सरकारले वाहवाही कमाएको छ ।

त्यस्तै बाह्रबिसे नगरपालिका बुदेपास्थित सुनकोशी माध्यमिक विद्यालय भवन पनि चीन सरकारद्वारा नै निर्माण भएको छ भने सीमावर्ती भोटेकोशी गाउँपालिका लिस्तीस्थित उग्रचण्डी माध्यमिक विद्यालय निर्माणाधीन अवस्थामा छ ।

यता, चौतारा साँगाचोकगढी नगरपालिका– ४ लाई जीवन्त गाउँ बनाउनका लागि चीन सरकार यतिखेर कम्मर कसेरै लागेको देखिन्छ । दक्षिण एशियाली मुलुकमा गरिबी निवारण गर्ने उद्देश्यका साथ चीन सरकारले अघि सारेको जीवन्त गाउँ परियोजना पहिलोपटक कुभिण्डेबाट शुरु गरेको हो । सन् २०२३ जुलाई २४ तारिखमा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य काउन्सिलर सिएयुले संयुक्त रूपमा उद्घाटन गरेको यो अभियानमार्फत कृषि र पशुपालनलाई आर्थिक, भौतिक र प्राविधिक सहयोग पु¥याउँदै स्थानीयको जीवनस्तरमा सुधार गर्नुका साथै शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गर्ने लक्ष्य छ ।

०७२ सालको भूकम्प र लगत्तैको भोटेकोशी बाढीले नाका बन्द भएकै कारण मृत अवस्थामा पुगेको तातोपानी यतिखेर गुल्जार मात्र भएको छैन, उत्तरी स्थलमार्ग भएर पहिलोपटक नेपाली सामग्री तेस्रो मुलुक निर्यातको सुरुवात पनि भएको छ । माघ २० गते चीन ट्रान्जिट भएर २४ सय बाक्सा जिङ्ग चाउचाउ जापान निर्यात भएको थियो । नेपाली सामान तेस्रो मुलुकमा निर्यात मात्र हैन तेस्रो मुलुक भएर नेपालमा सामान भित्रिने वातावरण पनि चीन सरकारले नै मिलाइदिएको हो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

पछिल्लोपटक बाह्रबिसेदेखि नाकासम्मको २६ किमि सडक कन्तविजोग बन्दै गएपछि चीन सरकारले यो सडकबारे पनि गम्भीर चासो लिन थालेको छ । सडक स्तरोन्नतिका लागि आफ्नो सरकार तयार रहेको राजदूत छन् सोङले तातोपानी भ्रमणको क्रममा बताएका थिए । जेठ १७ गते भन्सार कार्यालयमा बसेको सर्वपक्षीय छलफलमा सोङले पहिरो र अप्ठ्यारो सडकको अध्ययनका लागि प्राविधिक पठाउने जानकारी दिए  ।

शिक्षा, स्वास्थ्यजस्तो महत्वपूर्ण क्षेत्रमा मात्र नभई पूर्वाधार र जनजीविकाको क्षेत्रमा पनि चासो बढ्न थालेपछि भने सिन्धुबासी खुशी मात्र छैनन्, समृद्ध सिन्धुपाल्चोक निर्माणमा चीन सरकारको महत्वपूर्ण योगदान रहनेमा आशावादी छन् ।
 

टिप्पणीहरू