बलात्कार आरोपितलाई कारवाही नगर्न माननीयको माग
नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार आलेमगरले यौन दुर्व्यवहारको आरोप लागेका पर्वतारोही निर्मल पुर्जाको पक्षमा अभिव्यक्ति दिएका छन् ।
आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विश्व रेकर्ड राखेको व्यक्तिलाई पर्वतारोहणमा प्रतिबन्ध लगाउन नहुनेमा जोड दिएका हुन् । निर्मलले विश्व रेकर्ड कायम गर्नुका साथै नेपालको नाम संसारभर चिनाएकाले कारबाहीको प्रक्रिया बन्द गर्न सुरेशको माग छ ।
'उसले (पुर्जा) आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू ७ महिनामा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको छ', उनले भने, 'यस्तो व्यक्तिलाई पनि अहिले कारबाही गर्न लागिएको छ, उनीमाथि गरिने कारबाही तुरुन्त बन्द गरियोस् ।'
बेलायत बस्दै आएका निर्मल नेपाली मूलका एक उदाहरणीय पर्वतारोही भए पनि विवादित पात्र हुन् । हालै उनले सगरमाथा आरोहणका क्रममा चाहिने डोरी काटिएको भन्दै एउटा भिडियो इन्स्टाग्राममा हालेका थिए । तर, पर्यटन विभागले भने भ्रम फैलाएको भन्दै उनलाई पर्वतारोहणमा प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो । यसबारे विभागले छानविनसमेत गरिरहेको छ ।
निर्मलमाथि दुई महिलाले बलात्कारको आरोप लगाएका थिए । पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्त्सले सन् २०२३ मार्चमा काठमाडौँको मेरियट होटलमा लगेर उनले बलात्कार गरेको दाबी गरेकी थिइन् । आफ्नो पुस्तकमा समेत लोट्टाले 'निम्स दाइ नामले चिनिने चर्चित पर्वतारोहीबाट यौन दुव्र्यवहार भाेगेकाे' उल्लेख गरेपछि 'द न्युयोर्क टाइम्स'ले समेत लामाे सामाचार छापेको थियो ।
निर्मलले मिटिङको लागि मेरियट होटलमा निम्ताएको, लबीमा भिड हुने भन्दै आफ्नै कोठामा लगेको, कोठामा पुग्नबित्तिकै चुम्बन गरेको, सर्ट फुकालेर ब्रा फुकाल्न खोज्दा नमानेको, आफू पिरियडमा रहेका कुरा अवगत गराएकोलगायतका घटनाबारे लोट्टाले द न्युयोर्क टाइम्ससँग खुलाएकी थिइन् ।
त्यस्तै, क्यालिफोर्नियाकी एप्रिल लियोनार्डोले पनि पुर्जामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । केटु आरोहणको क्रममा उनले अनुमतिबिना चुम्बन गरेको र यौन सम्बन्धको प्रस्ताव गरेको दाबी एप्रिलको छ ।
यसरी बारम्बार विवादमा तानिएपछि केही महिनाअघि पर्यटन विभागले उनीमाथि प्रतिबन्ध लगाउने तयारी गरेको थियो । तर, अहिलेसम्म निर्णय भने लिइसकेको छैन ।
टिप्पणीहरू