कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन आह्वान

कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीसँग दरखास्त आह्वान गरेको छ । 

महानगरअन्तर्गतका संस्थागत विद्यालयमा ११ कक्षामा भर्ना भई छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई महानगरले दरखास्त पेश गर्न भनेको हो । भोलिदेखि असार २९ गतेसम्म अनलाइन आवेदन दिन सकिने महानगरले जनाएको छ । 

छात्रवृत्तिको परीक्षा भने आगामी साउन ४ गते सञ्चालन हुनेछ । परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा बहुवैकल्पिक वस्तुगत हुने पनि महानगरले जानकारी गराएको छ । 

त्यस्तै, विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्रसम्बन्धी अन्य विवरण पछि प्रकाशन गरिने बताइएको छ । छात्रवृत्तिको नतिजा प्रकाशन भएपश्चात् मात्र विद्यार्थी भर्ना गर्न महानगरले विद्यालयहरुलाई आग्रह पनि गरेको छ । 

नतिजा प्रकाशन हुनुअगावै भर्ना भएका विद्यार्थीलाई छात्रवृत्ति प्राप्तिका लागि सहजीकरण गर्न नसकिने समेत महानगरले स्पष्ट पारेको छ । यससम्बन्धी थप जानकारी महानगरको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
 

टिप्पणीहरू