छात्रवृत्तिमा पढ्न गएका उपप्राध्यापक बेपत्ता, सार्वजनिक सूचना निकालेर सोधखोज

छात्रवृत्तिमा पढ्न गएका उपप्राध्यापक बेपत्ता, सार्वजनिक सूचना निकालेर सोधखोज

त्रिभुवन विश्वविद्यालयले सुर्खेत बहुमुखी क्याम्पसका उपप्राध्यापक लालबहादुर रानालाई स्पष्टीकरण सोधेको छ । 

तीन वर्षदेखि गैरहाजिर रहेका उनीसँग त्रिवि रजिष्ट्रार कार्यालय, कर्मचारी प्रशासन महाशाखाले आज सार्वजनिक सूचना निकालेर स्पष्टीकरण मागेको हो । छात्रवृत्तिमा अध्ययनका निम्ति २०७३ कात्तिक १८ गतेदेखि पाँच वर्षे बिदामा बसेका उपप्राध्यापक राना हालसम्म पनि क्याम्पसमा हाजिर हुन नआएको महाशाखाले जनाएको छ । 

‘सुर्खेत बहुमुखी क्याम्पसका उपप्राध्यापक लालबहादुर राना छात्रवृत्तिमा मिति २०७३-०७-१७ गतेदेखि पाँच वर्षको अध्ययन बिदा लिई जानु भएकोमा ०७८-०७-१८ मै उक्त बिदा समाप्त भइसकेपश्चात् त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम ३० (५) (ख) बमोजिम हाजिर भई प्राध्यापन कार्यमा संलग्न हुनुपर्नेमा हाजिर हुन नआएको,’ सूचनामा भनिएको छ । 

त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम ६५ मा बिदाको लागि तोकिएबमोजिम स्वीकृति नलिई काममा अनुपस्थित हुन नहुने व्यवस्था छ । तर, उपप्राध्यापक राना वर्षौंदेखि बिना सूचना क्याम्पसमा अनुपस्थित रहेकोले त्रिविले अध्ययन बिदा बस्दा लिएको रकम र कबुलियतनामामा उल्लेख भएबमोजिम लाग्ने ब्याजसमेत असुलउपर गर्ने गरी कारबाही प्रक्रिया अघि बढाउन लागेको छ । 

त्यसअघि सफाई पेश गर्न मौका दिनुपर्ने भएकाले चित्तबुझ्दो स्पष्टीकरणसहित आगामी ३५ दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ । 

‘तपाईँ ९० दिनभन्दा बढी समयदेखि क्याम्पसमा अनुपस्थित रहेकोले अध्ययन बिदा बस्दा लिएको रकम र कबुलियतनामामा उल्लेख भएबमोजिम लाग्ने ब्याजसमेत यहाँबाट असुलउपर गर्ने गरी कारबाही किन नगर्ने ? सो सम्बन्धमा कार्यकारी परिषद्को मिति २०८१-०२-३० गतेको निर्णयानुसार सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचित गराइन्छ,’ त्रिविले भनेको छ ।

टिप्पणीहरू