एसईईको पूरक परीक्षामा सामेल हुने विद्यार्थीका लागि अतिरिक्त कक्षा अनिवार्य

एसईईको पूरक परीक्षामा सामेल हुने विद्यार्थीका लागि अतिरिक्त कक्षा अनिवार्य
सुन्नुहोस्

एसईईको ग्रेडवृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्ने भएको छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज देशभरका शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र गर्दै अतिरिक्त कक्षा सञ्चालनको प्रवन्ध मिलाउन निर्देशन दिएको हो । कक्षाको अनुगमन एंव सहजीकरण गरी त्यसको जानकारी केन्द्रलाई गराउन पनि परिपत्रमा भनिएको छ । 

स्थानीय तहबाट समेत यस्ता कक्षा सञ्चालनको अनुगमन तथा समन्वयको प्रबन्ध मिलाउन केन्द्रले भनेको छ । साथै, शिक्षक महासंघ, प्याब्सन, शिक्षकसम्बद्ध संघसंगठन र अन्य सरोकारवालालाई पनि आवश्यक सहयोगका लागि आग्रह गरिएको छ । 

एसईईको ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गरी नेपाल टेलिभिजन र रेडियो नेपालसँगको सहकार्यमा केन्द्रले सञ्चालन गर्दै आएको अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयसँग सम्बन्धित कार्यक्रमहरु पनि हेर्न वा सुन्न पनि अनुरोध गरिएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते गत वर्ष लिइएको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो । परीक्षामा सहभागी चार लाख ६४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख २२ हजार ४७२ जनामात्र उत्तीर्ण भएका छन् । दुई लाख ४२ हजार ३१३ जनाको 'ननग्रेड' (एनजी) आएको छ ।

त्यसमा पनि दुई विषयमा एनजी हुने विद्यार्थीको संख्या एक लाख १५ हजार ८३४ मात्र भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ । सोहीअनुरुप परिक्षामा सहभागी हुने विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्न केन्द्रले निर्देशन दिएको हो ।

यसअघि दुईभन्दा बढी विषयमा फेल भएका विद्यार्थीले अर्को वर्ष मात्र सम्बन्धित विषयको परीक्षा दिन पाउने व्यवस्था थियो ।

टिप्पणीहरू