हिजो फेल भएका सबैलाई एसईईको मौका परीक्षामा सामेल गराईंदै

हिजो फेल भएका सबैलाई एसईईको मौका परीक्षामा सामेल गराईंदै

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् । एसईईमा धेरै विद्यार्थी फेल हुनुका साथै मौका परीक्षा दिन पाउने विद्यार्थीको संख्या पनि निकै न्यून भएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले आज यस्तो निर्णय गरेकी हुन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले यसका लागि आवश्यक व्यवस्था मिलाउन राष्ट्रिय परीक्षा बोर्डलगायत सम्बन्धित निकायलाई पत्राचार समेत गरिसकेको जानकारी दिए । 

उनले भने, ‘मन्त्रीज्यूले आज जतिसुकै विषयमा पनि एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय गर्नुभएको छ । सोहीअनुरुप आवश्यक व्यवस्था मिलाउन हामीले राष्ट्रिय परीक्षा बोर्डलगायत सम्बन्धित निकायलाई पत्राचार गरिसक्यौं ।’

उनका अनुसार एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा संशोधन गर्न पाठ्यक्रम विकास केन्द्रलाई पनि पत्राचार गरिसकिएको छ । 

त्यस्तै, विद्यार्थीका लागि आवश्यक कक्षा सञ्चालन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सम्बन्धित विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने समेत निर्णय भएको प्रवक्ता दाहालले जानकारी दिए । 

राष्ट्रिय परीक्षा बोर्डले हिजो माध्यमिक शिक्षा परीक्षा (एसईई, २०८०) को नतिजा सार्वजनिक गरेको हो । गत चैत १५ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ६४ हजार ७८५ जना सहभागीमध्ये दुई लाख २२ हजार ४७२ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । दुई लाख ४२ हजार ३१३ जना विद्यार्थीको ननग्रेड (एनजी) आएको छ ।

त्यसमा पनि दुई विषयमा एनजी हुने विद्यार्थीको संख्या एक लाख १५ हजार ८३४ मात्र भएपछि मन्त्रालयले सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो । यसअघि दुईभन्दा बढी विषयमा फेल भएका विद्यार्थीले अर्को वर्ष मात्र एनजी लागेका विषयको परीक्षा दिन पाइन्थ्यो ।

टिप्पणीहरू