मथि अलग, तल उस्तै

मथि अलग, तल उस्तै

फुट्यो भनौं, प्रदेशतिर जस्ताको तस्तै । फुटेन भनौं, केन्द्रमा भद्रगोल । उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग्याएर केन्द्रको सरकारमा अशोक राईहरूलाई हावी गराइएको छ । यसो हुँदा उपेन्द्रको हातबाट राजदूत पद फुत्कियो । अशोक राई पक्षले भागमा परेको नाम दिँदा पनि किन र कसरी भन्दै पार्टीभित्र होहल्ला चलिरहेको छ । केन्द्रमा नयाँ संसदीय दल बनाएर अशोक राईहरू अलग्गिएपछि सर्वोच्च अदालतले दल विभाजनलाई यथास्थितिमा राख्न आदेश दियो । तसर्थ, त्यसले शुरुमा जति क्षति पुर्‍यायो, त्यसपछि त्यो क्रम अघि बढेको छैन । केन्द्रमा जस्तै मधेश प्रदेशमा पनि अशोकहरूले मन्त्री बनाउन पाएको भए उपेन्द्रलाई अझै ठूलो घाटा हुने थियो ।

उपेन्द्र यादवतिर अर्कै रमिता छ । महाधिवेशनबाट उनी अध्यक्ष निर्वाचित भए । तर, केन्द्रीय कार्यसमितिसहित बाँकी पदाधिकारी मिलाउने नाममा अझै पनि रस्साकस्सी चलिरहेको छ । अशोकतिर नलागी आफूसँगै रहेका पहाडे रकम चेम्जोङलाई आफूपछिको नेता बनाउने उपेन्द्रको चाहना छ । तर, सिराहाबाट निर्वाचित सांसद राजकिशोर यादव पनि सोही भूमिकाको निम्ति दावी गरिरहेका छन् । यादव अध्यक्ष र अर्को यादव नै सहअध्यक्ष वा उपाध्यक्ष हुँदा पार्टीलाई सबैको नभई निश्चित समुदायको मात्रै हो भन्ने पर्ला भनी उपेन्द्र सन्तुलन मिलाउनतिर व्यस्त देखिन्छन् । सर्वोच्च अदालतमा विचराधीन मुद्दाको पेशी भदौ १३ गतेलाई तोकिएको छ ।

अशोकहरूले राजदूत सिफारिस गरेका अबुसुफियान खानको लागि मोहम्मद इस्तियाक राइनले दबाब दिएका थिए । स्पेनका लागि सिफारिस भएका डा. पुष्पराज राजकर्णिकारलाई राजेन्द्र श्रेष्ठको साथ थियो । एमालेले स्व.पद्मरत्न तुलाधरकी छोरी तथा बालअधिकारकर्मी गौरी प्रधानकी पत्नी सुम्निमालाई डेनमार्कका लागि सिफारिस गरेको छ । एमाले आफैंले पहिला मुख्यसचिव बनाउनबाट रोकेका चन्द्र घिमिरे अमेरिकाको लागि राजदूत सिफारिसमा परेका छन् । धरानका स्थायी बासिन्दा उनी केही समय कलकत्तामा महावाणिज्यदूत थिए । सभामुख देवराज घिमिरेसँग नाता पर्नाले अहिले एमालेको प्राथमिकता सूचीमा परेको बताइन्छ । भारतका लागि सिफारिस गरिएका लोकदर्शन रेग्मी राजदूत भएर दिल्ली गए पनि एमालेसँग भारतको बिग्रँदो सम्बन्धलाई सुधारर्न सक्ने सम्भावना छैन । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू