उचालेर किन अलपत्र छोडिन्छ सुन्तलीहरूलाई

उचालेर किन अलपत्र छोडिन्छ सुन्तलीहरूलाई
सुन्नुहोस्

नेपाली महिलाहरूले यौनलगायत घरेलु हिंसा दिनहुँ भोग्ने गरेका छन् तर ती महिलालाई सहयोग गर्ने र न्याय दिलाउने नाममा कतिपयले आफ्नै नाम चम्किलो बनाउँछन् र पीडा खेपेकाहरूलाई अनि विस्तारै चिन्न छाड्छन् । 

निर्मला पन्तको बलात्कार र हत्या प्रकरण गिजोलिएको त निकै पछि हो । त्यसभन्दा अगाडि अछाम जिप्रकाभित्रै ०६६ साल असोज ११ गते सामूहिक बलात्कारमा परेकी सुन्तली धामीले पनि त्यस्तै अवस्था झेल्नुपरेको छ । उनको पक्षमा बोल्नेहरू अहिले हराएका छन् । एक जना महिला वकिलबाहेक अरू सहयोगी कोही पनि अहिले सम्पर्कमा छैनन् । 

लामो समय औषधिको भरमा बाँचेकी उनलाई शुरुमा सुदूरपश्चिमकी तत्कालीन डिआइजी पार्वती  थापाले सेती अञ्चल हेर्ने एसएसपी ढकबहादुर कार्कीसँग जुधेरै बलात्कारीविरुद्ध लड्ने भन्दै ठूलो सहयोग गरिन् । सुन्तलीलाई सहयोग चाहिएकै बेला उनलाई सरुवा गरेर विमला थापालाई पठाइयो । विमलाले त्यतिबेला सुन्तलीले आफ्नो प्रेमी (शाह थरको श्रीमान्) सँगका हर्कतको कारण हुनसक्ने विभागीय कारवाहीबाट जोगिन बलात्कारको कथा रचेको आरोप प्रहरी संगठनभित्र सुनाउने गरेको बताइन्छ । 

अहिले पार्वतीसमेत विदेशमा भएर होला सुन्तलीको सम्पर्कमा छैनन् । प्रहरी सेवाबाट अवकाश पाउन एक वर्ष मात्रै बाँकी रहेकी सुन्तली भने काठमाडौँमा जागिर गरेर अहिले पनि करिब–करिब गुमनाम जिन्दगी बिताउँदै छिन् । कुनै बेला उनैका नाममा सुन्तली हवल्दार भन्ने फिल्मसमेत बनेको थियो योसहित केही व्यक्तिका व्यवहारलाई उनले आफ्नो पीडामाथिको व्यापार भन्ने गरेकी छन् । 

उनलाई बलात्कार गर्नमा संलग्न भनिएकाहरूलाई अदालतले दोषी करार त गर्‍यो । तर उनी अझै आफू जन्मेको, हुर्केको सुदूरपश्चिमकै पहाडी जिल्ला जान सकेकी छैनन् । गाउँलेका अनुसार १५ वर्षमा दुई पटक मात्र गाउँ गएकी उनी आफन्तको व्यवहार राम्रो नभएको अनुभूति भएपछि जानै छाडेकी छन् । 

८६ र ७६ वर्षका बुवाआमा छन् तर समाजमा बलात्कारमा परेकी केटी भनेर हेप्ने व्यवहारले मन दुखाउँछ । सुन्तलीले गाउँमा निक्कै चलाक र अन्यायविरुद्ध लड्ने लडाकुको छवि बनाएकी थिइन् । गीत रेकर्ड गरेर उतिबेलै क्यासेट (एल्बम) पनि विद्यालयमै पढ्दाताका नै निकालेकी हुन् । उतिबेला अहिलेको जस्तो गीत गाउन र एल्बम निकाल्न सजिलो थिएन । 

त्यस्ती चञ्चल, चलाख र क्षमतावान सुन्तली अहिले आफन्तहरूसित टाढिएर बसेकी छन् । उनका बुवा पनि सुन्तलीको घटना भएको एक वर्षपछि मात्र भेट्नका लागि काठमाडाँै आएका थिए । काठमाडौँमा  सुन्तलीसँग दुई वर्ष बसे । संगठनको कुरा बाहिर नलैजाऊ भनिएको थियो तर उनले भन्ने गरेकी छन्, ‘बलात्कारमा परिसकेपछि म मरेकै बराबर हो, अरूले यस्तो अन्याय सहनु नपरोस् भनेर बाँचेका बहिनीहरूलाई बचाउन लडेकी हुँ ।’ आफन्तसित भन्ने गर्छिन्, ‘मलाई सबै खालका अन्याय, अत्याचारले जित्यो तर कालले जितेन ।’ हेड क्वार्टर आसपासको प्रहरी युनिटभित्र उनी कति तनावमा बाँचेकी छन् भन्ने कुरा यी भनाइबाटै थाहा हुन्छ । 

उनी धेरैलाई अहिले पनि विश्वास गर्दिनन् त्यसैले आफ्ना कुरा गर्न खोज्दिनन् । डडेलधुराको उग्रतारा मन्दिरमा लगेर बिहे गरेका शाह थरका युवकले पनि बलात्कारपछि साथ छाडे । जबकि बलात्कार घटनाको पाँच महिनाअघि नै बिहे भइसकेको थियो । बलात्कारमा परेको धेरैपछि ती युवक (श्रीमान्) भेट्न आए, विदेश जान्छु पैसा सहयोग गर भने, उनले सहयोग पनि गरिन्, त्यसपछिदेखि बेपत्ता छन् । सायद उनले अर्को बिहे गरेको उनको बुझाइ छ । केटाकी आमाले समेत आफ्नो घरमा पाइला नटेक्ने कसम खुवाउनुभयो अनि मैले मरिहत्ते गरेर त्यहाँ जान उचित ठानिन्, सुन्तली आफू निकटकालाई गुनासो पोख्ने गर्छिन् । 

बलात्कार घटनापछि लामो समय डिप्रेशनको औषधि खाएकी उनले आफू ठीक पनि हुन्थेँ होला तर समाजको वातावरणले ठीक हुन दिएन, खोरेचेको खोरेचै ( कोट्याएको कोट्यायै ) छ भन्ने गरेकी छन् । धेरैजसो सहकर्मीहरु उनको सुन्दरताले नै उनलाई दुःख दिएको पनि भन्छन्, हुन पनि उनलाई स्कूलदेखि प्रहरी संगठनभित्र धेरै पटक यौनदुव्र्यवहार र प्रलोभनमा पार्न खोजियो तर कसैसँग सम्झौता गरिनन् ।

 रिटायर हुँदा ४० वर्षको उमेर पुग्ने उनी त्यसपछि के गरेर जीवन धान्ने भन्ने चिन्तामा छिन् । खुट्टा पनि त्यति राम्रो छैन, त्यसैले काम के गर्ने, अरू सीप केही छैन, भन्छिन्, ‘बिहे गर्न त झनै मन छैन ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू