जान्नेलाई छान्ने कि मान्नेलाई छान्ने ?

जान्नेलाई छान्ने कि मान्नेलाई छान्ने ?
सुन्नुहोस्

 'जान्नेलाई छान्ने' नारा दिएर राष्ट्रिय राजनीतिमा आक्रामक उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समयक्रमसँगै 'मान्नेलाई छान्ने' पार्टीमा रुपान्तरित हुँदैछ ।

'जान्नेलाई छान्ने भन्नुको अर्थ 'राइटमेन इन राइटप्लेस' को अवधारणाअनुरुप विषय विज्ञताका आधारमा जिम्मेवारी वितरण गर्नु हो । मूलधारका राजनीतिक दल र नेतृत्वप्रति असन्तुष्ट मतदाताले गत निर्वाचनमा रास्वपाले उठाएको त्यही नारा मन पराएर घण्टीमा मत हालेका थिए ।

तर,निर्वाचनमा पाएको अप्रत्यासित नतिजाले हौसिएर शुरुबाटै उक्त विधि मिचेको सो पार्टी अब जिम्मेवारीका लागि सभापति रवि लामिछाने र उनको कोर टिमलाई खुशी तुल्याउनुपर्ने अवस्थामा पुगेको छ । यसको पछिल्लो उदाहरण हुन्,महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाल । 

इलाम-२ को उपचुनावमा जमानतसमेत जोगाउन नसकेपछि रास्वपाले देशभरको पार्टीको अवस्था बुझ्न महामन्त्री ढकाललाई जिम्मेवारी दिएर खटाएको थियो । त्यसैका आधारमा एक महिना लगाएर देशका ३८ वटा जिल्ला घुमेका उनले 'समीक्षा प्रतिवेदन' तयार गरी हालै सभापति लामिछानेलाई बुझाएका छन् । 

ढकालको प्रतिवेदन सार्वजनिक गरिएको छैन,तर केही अंश भने उनैले बाहिर ल्याएका छन् । जसमा पार्टीको जनमत खस्किएको यथार्थ स्वीकार गर्दै नेताहरु समयमै नसुध्रिए आगामी निर्वाचनमा विवेकशील साझाको हालतमा पुग्ने निर्मम समीक्षा गरिएको छ । त्यस्तै,एमाले र माओवादीसँगको सहकार्य छोडेर बालेन्द्र साह,गोपी हमाललगायत स्वतन्त्र चुनाव जितेकाहरुसँग मिलेर जानुपर्ने ढकालको मत छ । 

लामिछानेले टेलिभिजन चलाउँदादेखिकै सहकर्मीसमेत रहेका केन्द्रीय सदस्य दीपक बोहरा र अर्का नेता गणेश कार्कीले ढकाललाई कटाक्ष गरिरहेका छन् । समानुपातिक सांसद चयनमा उनले आफूनिकट चन्दा कार्की र निशा डाँगीलाई च्यापेको पुरानै कुरा फेरि उछालिएको छ । ढकालले भने त्यस्ता आरोपमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका छन् ।

यसरी सभापति लामिछानेलाई प्रतिकूल हुनेगरी लेखिएको महामन्त्रीको प्रतिवेदन मिडियामा छ्यापछ्याप्ती भएपछि ढकाल 'कोर टिम'को तारो बनेका हुन् । रास्वपाले उनीसँग स्पष्टिकरणसमेत मागेको छ । 

यसैबीच आगामी बुधबार यही विषयलाई छलफलको एजेण्डा बनाएर रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकको प्रत्यक्ष प्रशारण (लाइभ) गर्न ढकालले सभापति लामिछानेलाई आग्रह गरेका छन् । तर, सो पार्टीका सभापतिनिकट नेताहरु भने महामन्त्री नै फेर्नुपर्ने पक्षमा क्रमश: खुल्न थालेका छन् । 

महामन्त्री ढकालले औपचारिक रुपमा प्रतिवदेनमार्फत र अनौपचारिक भेटमा समेत लामिछानेसँग बैठकको लाइभ गर्ने व्यवस्था मिलाउन आग्रह गरेको बताए । 'मैले प्रतिवेदनमा पनि बैठक लाइभ गर्न प्रस्ताव गरेको छु,भेटमा पनि सभापतिज्यूसँग त्यही आग्रह गरेको हुँ', उनले जनआस्थासँग भने, 'तर उहाँले अहिलेसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन, बैठक लाइभ हुन्छ कि हुँदैन,मलाई नै जानकारी आएको छैन ।' 

त्यसो त, रास्वपा स्थापनाकालदेखि नै लामिछानेलाई निरन्तर सहयोग गर्दै आएका ढकाल एक समय 'कोरटिम' कै सदस्य थिए । तर, पछिल्लो समय उनीहरुबीचको सम्बन्ध चिसिँदै गएको देखिन्छ । सभापति निकटहरुले महामन्त्रीविरुद्ध सामाजिक सञ्जालमा चर्को आक्रोश पोखिरहेको अवस्थाले पनि लामिछाने र ढकालको सम्बन्ध बिग्रिएको अनुमान गर्न सकिन्छ । 

लामिछानेले टेलिभिजन चलाउँदादेखिकै सहकर्मीसमेत रहेका केन्द्रीय सदस्य दीपक बोहरा र अर्का नेता गणेश कार्कीले ढकाललाई कटाक्ष गरिरहेका छन् । समानुपातिक सांसद चयनमा उनले आफूनिकट चन्दा कार्की र निशा डाँगीलाई च्यापेको पुरानै कुरा फेरि उछालिएको छ । ढकालले भने त्यस्ता आरोपमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका छन् । 

पार्टीले चुनावअघि नै तयार पारेको बन्दसूचीको आधारमा कार्की र डाँगी सांसद बनेको उनको दाबी छ । 'जसले आरोप लगाइरहनुभएको छ,उहाँको नाम सूचीमा हेर्न हो भने १५औँ नम्बरमा छ । जबकि चन्दा कार्की एक नम्बर र निशा डाँगी १२औँ नम्बरमा हुनुहुन्थ्यो', ढकालले प्रष्ट्याउँदै भने, 'अनि कसरी मैले सूची मिचें ? फेरि यो सूची पार्टीले नै चुनावअघि तयार पारेको हो । अनि मंसिरमा चुनाव भएपछि त्यहीअनुसार अघि बढेका हौँ । त्यसकारण समानुपातिक सांसदको विषयलाई लिएर मसँग रुष्ट हुनुपर्ने केही कारण छैन ।' 

ढकालले आफ्नो समीक्षा प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरिदिन पनि पुन: आग्रह गरे ।

टिप्पणीहरू