शिखहरु ‘बलात्कार महाराज’को शिकार

शिखहरु ‘बलात्कार महाराज’को शिकार
सुन्नुहोस्

सरकारी, सार्वजनिक एवं गुठीको जग्गा राज्यको सम्पत्ति हो । त्यसको संरक्षण र उचित प्रयोग हुनुपर्छ । तर, पछिल्लो समय यस्ता सम्पत्ति व्यक्तिको नाममा दर्ता भइरहेको छ । 

विवादित धर्मगुरु स्वामी कृष्णदास महाराजका भक्तहरुले जग्गा कब्जा गरेका हुन् ।  काठमाडौं महानगरपालिका १६, विष्णुमती नदी किनारामा रहेको गुरुनानक मठ क्षेत्रको ३२ रोपनी जग्गा हडपेका छन् ।

शिख धर्मका प्रवर्तक गुरु नानक सन् १६५३ मा नेपाल आएका थिए । राजा जगतजङ्ग मल्लको निमन्त्रणामा बनारसबाट आएका उनले मानसिक रोगको उपचारबाट आफ्नो छोरालाई ठीक पारिदिएको खुशीयालीमा १ हजार ६ सय रोपनी जग्गा राजाबाट दान पाए । 

सो जग्गा संरक्षणको जिम्मा गुठी संस्थानले गुरु नानक गुठीलाई दिएको थियो । हाल त्योमध्ये ३२–३–२ पैसा जग्गा मात्र बाँकी छ । अन्य जग्गा व्यक्तिले अतिक्रमण गरिसकेका छन् । शोभा भगवती, पशुपतिनाथ मन्दिर बगैंचा, ज्ञानेश्वरस्थित ज्ञानधारा, थापाथलीको जग्गा कब्जा भइसकेको छ । बालाजुको जग्गा पनि कब्जा हुने क्रममा छ ।

बलात्कारको आरोपमा जेल परेका सुनसरीको चतराका महाराजका चेलाहरुले जग्गासहित त्यहाँको भौतिक संरचना आफ्नो मुठ्ठीमा लिएर शिखहरुलाई निकालेका हुन् । शिखहरुलाई त्यहाँ भित्र जानै बन्देज गरिएको छ । २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि महाराज केही दिनको लागि शरण माग्दै गुरुद्वारा पुगेका थिए । 

क्षेत्रपाटीस्थित आफ्नो बासस्थान भत्किएपछि उनले गुरुद्वारामा बास मागेका हुन् । शिखहरुले सहयोगी भावना राखेर तत्काल उनलाई बास दिए । अहिले उनै महाराजका भक्तले उनीहरुलाई धम्क्याउने, थर्काउने गर्दै आएको भन्दै असार ९ गते सोबार सरदार प्रितम सिंहलगायत १३ जना शिख नेताहरु प्रधानमन्त्री गुहार्न सिंहदरबार पुगेका थिए ।

आफ्नो समूह ठूलो भएकाले महाराजका भक्तहरुले दादागिरी चलाएको शिखहरुको गुनासो छ । यसमा पूर्वसचिव विश्वप्रकाश पण्डितले सहयोग गर्दै आएको आरोप छ । 

पण्डितले क्रसर उद्योग पनि सञ्चालन गरेका छन् । उनीमाथि यसअघि भ्रष्टाचार आरोप लागेको थियो । गुठी संस्थानसँगको मिलेमतोमा उनीहरुले त्यहाँ नयाँ महन्थ ल्याउन खोजेको स्रोत बताउँछ । त्यस्तै, उनीहरुले गेटबाहिर लगाइएको गुरु नानकको बोर्ड पनि हटाइदिएका छन् । शिखहरुले लामो समयदेखि लंगर (गरिब गुरुवालाई खाना खुवाउने) सञ्चालन गर्दै आएका थिए । 

हाल त्यो पनि रोकिएको छ । महाराजका भक्तहरुले भवन कब्जामा लिएपछि शिखहरुले सडकमा खाना खुवाउन थालेका थिए । तर, उनीहरुले सडकको बीचमा गाडी तेस्र्याउने, खाना खान आएका गरिबहरुलाई लखेट्नेलगायतका क्रियाकलाप गर्न थालेपछि बाध्य भएर खान खुवाउन बन्द गरिएको बताइन्छ । गुरु नानकको पवित्रस्थलबाहिर केही समयअघि ‘बलात्कारी कृष्णदास’ लेखिएका पोष्टरहरु टाँगिएको थियो । आफ्नो धर्मगुरुको मठबाहिर त्यस्ता पोष्टर टाँसिएपछि शिखहरु निराश भएका छन् । 

गुरुद्वारा गुरुनानक सत्सङ्ग समितिका प्रमुख कार्यकारी अधिकृत रविन्दर सिंहले गृह मन्त्रालय, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बारम्बार निवेदन दिइसकेका छन् । ‘यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग यस विषयमा कुरा भएको थियो । उहाँले छलफल पनि अगाडि बढाइसक्नुभएको थियो । तर, उहाँ हटिहाल्नुभयो । एक जनालाई गुनासो सुनाएर आयो, अर्को आइहाल्नुहुन्छ, यसले पनि हामीलाई धेरै समस्यामा पारेको छ’, उनले भने ।

गत कात्तिक २० गते उनले ‘बालाजुस्थित गुरु नानक मठ खाली गराई हाम्रो जिऊधन सुरक्षा गरिपाऊँ’ भन्दै सिडियो कार्यालयमा निवेदन दिएका थिए । भनिएको छ, ‘सबै प्रकारका अतिक्रमणकारीहरुलाई उक्त पवित्र स्थानबाट हटाई हामीलाई हाम्रो शिख धर्मअनुरुप कार्य सञ्चालनका निम्ति सहयोग पुर्याइ दिनुहुने विश्वास छ ।’

सो जग्गा हडप्नका लागि पण्डितले ११ सदस्यीय समिति बनाएको बताइन्छ । तीन वर्षअगाडि त्यहाँ महाराजका भक्तले भवन बनाउन लागेका थिए । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै पनि भवन बनाउन खोजेपछि तत्कालीन मेयर विद्यासुन्दर शाक्यले हस्तक्षेप गर्नुपरेको थियो ।

शिखहरुले गरिबहरुको निःशुल्क उपचार र शिक्षाका लागि त्यहाँ अस्पताल, विद्यालय खोल्ने योजना बनाएका छन् । गुठी संस्थानले २०७१ असोज १३ गते सो जग्गाको प्रयोगबारे विस्तृत योजना उपलब्ध गराउन पत्राचार गरेको थियो । सत्संग समितिका अध्यक्ष प्रितम सिंहलाई लेखिएको पत्रमा भनिएको छ, ‘उक्त गुरु नानक मठ क्षेत्रलाई धार्मिक पर्यटन स्थलको रुपमा विकास गर्नका लागि त्यस समितिको तर्फबाट निर्माण गरिने भौतिक संरचना, भवनहरुको नाम, विस्तृत विवरण, लागत अनुमान, निर्माणपश्चातको सञ्चालनका लागि व्यवस्थापकीय अवधारणा, धार्मिक पर्यटन विकासको स्वरुप र मठ परम्पराको निरन्तरतासहितको विस्तृत योजना यथाशीघ्र उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’

तर, पैसाको चुरोकुरो नमिलेपछि सो पत्र अलपत्र परेको छ । संस्थानका तत्कालीन अध्यक्ष एवं प्रशासक पञ्चलाल महर्जनले ठूलो रकम मागेकाले काम अघि बढ्न नसकेको बताइन्छ । त्यसपछि आएका संस्थानका हाकिमहरुले पनि पैसा मागेको सत्संग समितिका पदाधिकारीहरु बताउँछन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू