एकीकृत समाजवादीको मञ्चमा प्रचण्ड असन्तुष्ट, घनश्यामको लगत्तै जवाफ

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीको दस्तावेजमा आफूलाई अस्थिर चित्रण गरिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ ।.

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा उहाँको घुमाउरो असन्तुष्टि बाहिरिएको हो । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफू ‘अस्थिर’ भएकै कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको दाबी पनि गर्नुभयो । 

‘तपाईंहरुको दस्तावेजमा प्रचण्ड अस्थिर भन्नुभएको छ । तपाईंलाई त्यो भन्ने अधिकारमा प्रश्न उठाउँदिनँ’, उहाँले भन्नुभयो, ‘प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैन थियो । इन्भर्टेड कमाको अस्थिर है फेरि साँच्चै अस्थिर ठान्नुहोला, अस्थिर नभएको भए शान्ति प्रक्रिया पनि हुँदैन थियो । अस्थिर नभएको भए यो प्रक्रियामा हामी आइपुग्ने पनि थिएनौँ ।’

प्रचण्डले माक्र्सवादलाई बुझ्ने परम्परागत दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा पनि जोड दिनुभयो । किलो गाढिएझैँ एकै ठाउँमा बसिरहनु माक्र्सवाद नहुने र त्यसले परिवर्तन नल्याउने उहाँको भनाई छ ।  

एकीकृत समाजवादीले माओवादी केन्द्रलाई मित्र शक्ति मानेको र समाजवादी मोर्चामा सँगै रहेकाले पार्टी एकताको प्रयासमा सबै लागुपर्ने प्रचण्डले बताउनुभयो । विगतमुखी नभई भविष्यलाई हेरेर क्रान्तिकारी आशावादीतासहित एकताको पक्षमा महाधिवेशनले विचार, संगठन र नेतृत्व निर्माण गर्ने उहाँको विश्वास छ ।  

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले आफूलाई अस्थिर भनेकोप्रति मञ्चबाटै असन्तुष्टि व्यक्त गरेपछि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रष्टिकरण दिनुभएको छ ।  कार्यक्रमको सञ्चालकसमेत रहेका उहाँले आफ्नो पार्टीको दस्तावेजमा नेपाली क्रान्तिमा जनयुद्धले खेलेको भूमिकाको सकारात्मक चर्चा गरिएको स्पस्ट पार्नुभयो ।
 

टिप्पणीहरू