मध्यरातमा नियन्त्रणमा लिइएका पूर्वप्रदेश सांसद अदालतमा

मध्यरातमा नियन्त्रणमा लिइएका पूर्वप्रदेश सांसद अदालतमा

सशस्त्रका असई थमन विकको हत्या अभियोगमा फरार मधेश प्रदेशका पूर्वसांसद कौशलकुमार यादव पक्राउ परेका छन् । उनलाई गएराति महोत्तरीको साम्सी गाउँपालिका वडा नम्बर ५, बाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको हो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवालका अनुसार शनिबार राति १० बजेतिर सम्सी–५, स्थित सडक खण्डमा डिएल ३ सिएवाई ८६१५ नम्बरको स्कार्पियो गाडीलाई प्रदेश २–०२–००१ च ००४५ नम्बरको महेन्द्र पिकअप गाडीले ठक्कर दिएको थियो । 

लगत्तै खटिएको प्रहरी टोलीले दुर्घटनामा घाइते स्कार्पियो गाडीमा सवार चालकसहित तीन जनालाई उपचारका लागि अस्पताल लगियो । पिकअप गाडी एकाएक फरार भएको थियो । सो क्रममा गाडीको खोजी गर्दा उक्त गाडीमा यादव सवार रहेको खुलेको डिएसपी जयसवालले बताए । 

उनले भने, ‘गाडी चालकको खोजी गरेर ल्याएपछि नाम टिपोट गर्दा उनी पहिल्यै फरार सूचीमा रहेको पाइएको हो ।’ यादवलाई आज अदालतमा उपस्थित गराइएको डिएसपी जयसवालले बताए । 

२०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो । उक्त घटनामा ०७५ साउन २८ गते नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो ।  
जिल्ला अदालत महोत्तरीले गत मंसिर २८ गते विकको हत्या प्रकरणमा लोसपा मधेश प्रदेशका संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाउँदा कोइरीसहित पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए । 

यही मुद्दामा पूर्व प्रदेशसांसद यादव भने लामो समयदेखि फरार थिए । लोसपाका नेतासमेत रहेका उनी ०७४ मा तत्कालिन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नम्बर ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए । 

०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि स्थानीय चुनावमा अन्तर्घात गरेको ठहर गर्दै जसपाले उनलाई पार्टीबाट निष्काशन गरेको थियो । जसपाबाट निष्काशनपछि लोसपाबाट चुनाव लडेका उनी पराजित भएका थिए ।

टिप्पणीहरू