गृहमन्त्रीलाई प्रश्न : अदालतमा बयान दिएर कसरी फरार ?

गृहमन्त्रीलाई प्रश्न : अदालतमा बयान दिएर कसरी फरार ?
सुन्नुहोस्

नेपाली काँग्रेसका सांसद् रामहरि खतिवडाले ‘द डार्क फाइल’ अडियो प्रकरणमा जोडिएका अभियुक्तलाई सत्ता र शक्तिको आडमा फरार सूचीमा राखिएको भन्दै आपत्ति जनाएका छन् । सीधाकुरा नामक युट्युब च्यानलका सञ्चालक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई नक्कली अडियो दिने ललितपुरका ३६ वर्षीय राजकुमार तिम्सिनालाई फरार प्रतिवादी बनाएर शुक्रबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौँले राजकुमारसहित कँडेल र ढुंगानालाई पनि फरार सूचीमै राखेर मुद्दा दायर गरेको बताइएको छ । त्यसयता उनीहरू गृहमन्त्री रवि लामिछानेको सम्पर्कमै रहे पनि प्रहरीको नजरमा फरार भएका छन् । त्यसो त राजकुमारलाई नेपाल प्रहरीको सिआइबीले दुई पटक बोलाएर बयानसमेत लिइसकेको छ । त्यो बेला कँडेल र ढुंगाना सिआइबीको सम्पर्कमै गएनन् । 

गृहमन्त्रीको समीपमा रहेका कारण उनीहरु बयानमा नगएको प्रहरी स्रोतले अनौपचारिक रुपमा बताएको छ । सांसद् खतिवडाले उठाएको विषय नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदाताकासँग मिल्दोजुल्दो देखिन्छ । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले ‘६० केजी सुन प्रकरण’का बेला फरार अभियुक्त भनेर बयान लिएका जीवन चलाउनेलाई मुद्दा चलाउँदा तत्कालीन एआइजी किरण बज्राचार्यलाई कारबाही गरिएको प्रसंग उठाउँदै अहिलेका गृहमन्त्रीसँग जवाफ मागेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलाससम्म पुगेको मुद्दाका सन्दर्भमा सांसद खतिवडाले ‘बयान लिएको व्यक्तिलाई छुटाएर कसको निर्देशनमा अदालतमा मुद्दा पेश गरियो ?’ भन्ने प्रश्न गरेका छन् ।

टिप्पणीहरू