देउवा र ओली भेट्नासाथ सत्ता समीकरण नफेरिने दाबी

सुन्नुहोस्

नेपाली कांग्रेस र एमालेका शीर्ष नेता सरकार परिवर्तनको कसरतमा जुटेको चर्चा भैरहँदा सत्तारुढ माओवादी केन्द्रका एक नेताले तत्काल समीकरण फेरबदल नहुने दाबी गरेका छन् । 

आज प्रतिनिधिसभामा बोल्दै सो पार्टीका सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरुले भेटघाट गर्नेबितिक्कै समीकरण नफेरिने बताएका हुन् । उनले अहिले सरकार बदलिने सम्भवना नरहेको पनि जिकिर गरे । 

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच केही दिनयता लगालग भेटघाट भैरहेको छ । संविधान संशोधन गरी निर्वाचन प्रणाली फेर्ने शर्तमा दुई दल मिलेर सरकार बनाउन दुई नेताबीच सहमति भएको भनिएको छ । ओली भेट्न शनिबार बालकोट पुगेका देउवाले प्रधानमन्त्री प्रस्ताव गरेको र सरकार गठनको मापदण्डसमेत तय भैसकेको दाबी गरिएको छ ।  

तर, माओवादी सांसद सापकोटाले भने उक्त भेटले सत्ता समिकरण उलटफेर नहुने बताए । सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुका बीचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन हुँदैछ भन्ने प्रचार गरिँदा स्थिरताको मानसिकता नदिने उनको धारणा छ ।

'दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरुलाई नजिकबाट नियाल्यौँ भने अहिले सिंगै राजनीति तरंगित भएको छ । सत्तापक्ष दलका नेता र प्रतिपक्ष दलका नेताबीचमा संवाद हुँदाबित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठूला–ठूला ब्यानर न्युजहरु हामीले पढ्न पाउछौँ', उनले भने, 'मलाई त्यस्तो के लाग्दैन भने तुरुन्तै दुईजना नेताहरु बस्नबित्तिकै पूरै सत्ताको समिकरण उलटफेर हुने । सत्ताको समिकरण नै बदलिने त्यस्तो परिस्थितिका रुपमा हाम्रो जे भाष्य बनाउने, विश्लेषण बिना नै निष्कर्षमा पुग्ने जे परिपाटी छ । यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन।' 

शीर्ष नेताहरुबीच संवाद हुनु सकारात्मक हो भन्दै सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन सबै राजनीतिक दलहरुको ध्यानाकर्षण पनि गराए ।

टिप्पणीहरू