देउवा-ओली भेटले आशाको सञ्चार गराएको भन्दै दंग

सुन्नुहोस्

नेपाली काँग्रेसका सांसद दीपक गिरीले प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा भएको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । 

कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउन भित्रभित्रै कसरत चलिरहेको चर्चा भैरहँदा उनको यस्तो प्रतिक्रिया आएको हो । आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले दुई दलका शीर्ष नेताहरुबीच शुरु भएको सघन संवादले आशाको सञ्चार गरेको पनि बताए । 

लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नुपर्ने उनको धारणा छ । निर्वाचन प्रणालीमा सुधार गर्नेलगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै सांसद गिरीले त्यसनिम्ति ठूला पार्टीहरु मिल्नुपर्नेमा जोड दिए । 

‘चारैतिर निराशा फैलिएका बेला संसदका दुई ठूला दल नेपाली काँग्रेस तथा नेकपा(एमाले)का शीर्ष नेताहरुबीच शुरु भएको सघन सम्वादले आशाको सञ्चार गरेको छ', उनले भने, 'लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यि दुई ठूला दलहरुका बीच संवाद र सहकार्य आवश्यक छ ।'

संविधान संशोधनका लागि अन्य दलहरुसँग पनि छलफल गर्नुपर्ने बताएका गिरीले लोकतन्त्रका लागि पटक–पटक लडाँइ लडेका दुई ठूला पार्टीको संवादलाई सकारात्मक लिन आग्रह गरे ।

टिप्पणीहरू