काठमाडौंमा ह्वील चेयर र कमोट चेयरपछि निःशुल्क फिजियोथेरापीको तयारी

काठमाडौंमा ह्वील चेयर र कमोट चेयरपछि निःशुल्क फिजियोथेरापीको तयारी
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले महानगरभित्र स्थायी बसोबास गर्ने अपांगता भएका व्यक्तिलाई निःशुल्क रुपमा ह्वील चेयर प्रदान गरेको छ । अपांगता भएका २५ जनालाई ह्वील चेयरसहित ११ जनालाई कमोट चेयर तथा अपांगता सहायता सामग्री उपलब्ध गराएको जनाइएको छ ।  

वडाबाट सिफारिस भएका सबै प्रकारको अपांगता भएका व्यक्तिका लागि निःशुल्क रुपमा उक्त सामग्री उपलब्ध गराएको महानगरले जनाएको छ । यसरी प्रदान गरिएका सहायक सामग्रीमा वाकर, सेतो छडी, कम्मरपेटी, डाइपर, इलेक्ट्रिक हटव्यागलगायत छन् ।

त्यस्तै, फुटबल, क्यारम बोर्ड, ब्याटमिन्टन, बास्केटबल, ह्याण्डबल, क्रिकेटबल, ब्याट, टेडी बियर, रबरको घोडाजस्ता खेल सामग्री पनि वितरण गरिएको छ । सामग्री वितरणअघि उनीहरुलाई प्रयोगको विधि समेत सिकाइएको महानगरले जनाएको छ । 

महानगरले सबै प्रकारको अपांगता भएका व्यक्तिका लागि यसरी सामग्री बाँडिएको यो पहिलो पटक हो । महानगरको सामाजिक विकास विभाग प्रमुख विमला कोइरालाले अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै छिट्टै फिजियोथेरापीसहितको सहयोग कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइन् । 

उनले भनिन्, ‘फिजियोथेरापीसहितको सहयोग कार्यक्रम सञ्चालन गर्ने हाम्रो आगामी योजना हो । उहाँहरुले जस्तो खालको सहयोग माग गर्नुहुन्छ, वडाको सिफारिसमा त्यस्तै सहयोग उपलब्ध गराउने छौँ ।’

टिप्पणीहरू