केपी ओलीद्वारा प्रचण्डलाई हटाउन पर्नुको सप्रसङ्ग ब्याख्या

केपी ओलीद्वारा प्रचण्डलाई हटाउन पर्नुको सप्रसङ्ग ब्याख्या
सुन्नुहोस्

शंकर पोखरेलबाहेक पार्टीका अरु कसैलाई पनि थाहा पत्तै नदिई रातारात नयाँ सत्ता समीकरण बनाउनुभएका एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले यसो गर्नपर्नाको कारण खोल्नुभएको छ । 

अस्ति मध्यराति शेरबहादुर देउवासँग आलोपालो प्रधानमन्त्रीसहित संविधान संशोधनलगायत विविध विषयमा आफूले गरेको सहमति अनुमोदन गराउन हिजो अपरान्ह बसेको सचिवालय बैठकमा उहाँले विकसित राजनीतिक परिस्थितिबारे जानकारी गराउनुभएको हो । बैठकमा झण्डै दुई घण्टा लामो मन्तव्य राख्नुभएका ओलीले त्यस क्रममा प्रचण्डकै गतिविधिका कारण गठबन्धन टुटेको र नयाँ समीकरण बनेको निष्कर्ष सुनाउनुभयो । 

सरकारमा सहकार्य गर्दै आगामी ०८४ सालको निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन गर्ने तहमा प्रचण्डसँग भएको भनिएको पुरानो सहमति भाँडिएर हठात् कांग्रेस रोज्नुपर्ने अवस्था किन आइपर्यो ? भन्ने सम्बन्धमा उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसमेतको विश्लेषण गर्दै सप्रसंग ब्याख्या गर्नुभएको बुझिएको छ ।  

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई अविश्वासी पात्रका रुपमा चित्रित गर्दै त्यहीकारण कांग्रेससँग मिल्न बाध्य भएको ब्रिफिङ बैठकलाई गराउनुभएको एमालेका एकजना सचिवालय सदस्यले बताए । 'तपाईं नै चलाउनुस् तर सल्लाह गर्नुस् भनेको हो, तर,उहाँले विश्वासयुक्त वातावरण बनाउन सक्नुभएन',अध्यक्षको भनाई उदधृत गर्दै उनले भने ।  

प्रधानमन्त्री प्रचण्ड पछिल्लो भारत भ्रमणबाट फर्किएपछि पुन: कांग्रेससँग मिलेर एमालेलाई कर्नरमा पार्ने षड्यन्त्रमा लागेको र त्यसले नयाँ परिस्थिति जन्माएको ओलीको जिकिर थियो । 'भारतबाट फर्किएर आएपछि कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार बनाउने उहाँको मनशाय बुझियो',बैठकमा ओलीको ब्रिफिङ थियो, 'त्यसमा एमालेलाई आग्रह गर्ने तर उसले मान्दैन अनि बाहिर राखेर जाने मनशाययुक्त उहाँको कुरा कांग्रेस नेताहरुबाट थाहा भयो । यो कुराले विश्वासको वातावरण बिग्रदैं गयो ।' 

प्रचण्ड पछिल्लो भारत भ्रमणबाट फर्किएपछि पुन: कांग्रेससँग मिलेर एमालेलाई कर्नरमा पार्ने षड्यन्त्रमा लागेको र त्यसले नयाँ परिस्थिति जन्माएको ओलीको जिकिर थियो ।

त्यस्तै, अर्थतन्त्रमा देखिएको संकट समाधान गर्नुपर्ने मुलुकको मुख्य कार्यभार पन्छाएर प्रधानमन्त्री स-साना नियुक्तिमा अल्झिएको र त्यसले जनतामा निराशा बढेकोले पनि दुई ठूला दललाई एक ठाउँमा उभिन बाध्य पारेको ओलीको विश्लेषण छ । नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियाप्रति खुलेरै असन्तुष्टि जनाउँदै आउनुभएका उहाँले हिजोको बैठकमा पनि प्रचण्ड छोडेर देउवा रोज्नुपर्ने एउटा महत्वपूर्ण कारण त्यही हो भन्नुभयो । 

बैठकमा सहभागी एकजना उपाध्यक्षले भने, 'खासगरी अर्थतन्त्र र विदेश सम्बन्धका विषयमा प्रधानमन्त्री र हाम्रो अध्यक्षबीच असमझदारी रहेछ भन्ने बुझियो ।' सरकारदेखि सरकारको प्रक्रियामा अल्झिइरहँदा नागरिकमा निराशा बढेको र मुलुकमाथि नै विश्वास नहुने अवस्था बनेपछि बलियो र स्थिर सरकारका लागि यो कदम चाल्नुपरेको ओलीको तर्क थियो । 

हिजो बैठकमा सहभागी एमालेका अर्का एक नेताले भने कांग्रेससँग मिलेर सरकार गठन गर्ने तयारीप्रति आफ्नो असन्तुष्टि रहेको बताए । बन्दै गरेको वामपन्थी सहकार्य टुटाएर न्यूनतम कार्यक्रम र उद्धेश्य नमिल्ने दलसँग समीकरण बनाउँदा कालान्तरमा पार्टीले नोक्सानी व्यहोर्नुपर्ने उनको चिन्ता छ । 

दुई ठूला दल सरकारमा बसेर संसदको प्रतिपक्षी बेञ्च रित्तो पार्दा लोकतन्त्रको सही अभ्यास नहुने ती नेताको धारणा छ । यद्यपि अध्यक्ष नै प्रधानमन्त्री हुँदै गरेको अवस्थाका कारण हिजोको बैठकमा आफूले यसबारे कुनै टिप्पणी नगरेको उनले खुलाए ।

त्यस्तै, संविधान संशोधनको विषयमा ओली र देउवाले गरेको सहमतिलाई लिएर पनि एमाले नेताहरुमा केही असन्तुष्टि देखिन्छ । संविधान कार्यान्वयन गर्दै अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्नेमा संशोधनका नाममा झन् अस्थिरता हुने त होइन ? भन्ने चिन्ता सुनिन्छ ।बैठकमा ओलीले भने यसबारे प्रष्ट पार्नुभएन । उहाँले संक्षिप्तमा भन्नुभयो, 'संविधानका केही कुराहरु पनि हेर्नुपर्नेछ !'

माओवादी केन्द्र,रास्वपा र एकीकृत समाजवादीबाहेक अरु सबै दल ओली नेतृत्वको 'राष्ट्रिय सहमतिको सरकार' मा आउने एमालेहरुको बुझाई छ । 

'माओवादी रिसाएको होला अहिले नै सरकारमा नआउला । रास्वपाभित्रै अस्ति नै सरकारमा जान हुँदैन भन्ने मत थियो, उनीहरु पनि नआउलान् । माधव नेपाललाई ओलीले त्यति किन गन्थे र ! अरु त सबै आउँछन् नि !', तिनै असन्तुष्ट नेता भन्छन्, 'उपेन्द्रले आउने भनिसके, लोसपा आइहाल्छ । अशोक पनि आउने कुरा छ । जनमत पनि आउन सक्छ । उस्तै परे राप्रपा पनि आउन बेर छैन ।' 

प्राय: पार्टीका बैठकहरुमा देशी-बिदेशी चलखेलको प्रसंग निकाल्ने ओलीले हिजोको बैठकमा भने खासै त्यसबारे चर्चा नगरेको बुझिएको छ ।

टिप्पणीहरू