भोले बाबाको खुट्टा छुने रहरमा १३४ जनाको गयो ज्यान

भोले बाबाको खुट्टा छुने रहरमा १३४ जनाको गयो ज्यान
सुन्नुहोस्

भारतको उत्तर प्रदेशमा आयोजित एउटा सत्संग कार्यक्रममा भागदौड मच्चिदा सयौँको ज्यान गएको छ । 

हाथरस जिल्लाको सिकन्दराउनजिकै हिजो आयोजित कार्यक्रममा एकाएक भागदौड हुँदा १३४ जनाले ज्यान गुमाएका हुन् । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ भने हजारौँ भक्तजन घाइते भएका छन् । यो घटनाका कारण यतिबेला उत्तर प्रदेश नै शोकमा डुबेको भारतीय मिडियाहरुले जनाएका छन् । 

घटना विवरणअनुसार सत्संग कार्यक्रममा डेढ लाखभन्दा बढी भक्तजन उपस्थित थिए । कार्यक्रम दिउँसो १२ बजेवास शरु हुने भनिएको थियो । तर, प्रवचक नारायण साकार हरि उर्फ भोले बाबा भने साढे १२ मात्र कार्यक्रमस्थल पुगे । करिब १२:५५ मा भोले बाबाले प्रवचन दिन शुरु गरेको नवभारत टाइम्सले जनाएको छ । 

प्रवचन शुरु भएसँगै भक्तजनहरु स्टेजमा पुगेर भोलेबाबाको पाउ छुन बलजफ्ती गरिरहेका थिए, जसलाई नियन्त्रणमा लिन तैनाथ सुरक्षाकर्मीलाई हम्मे-हम्मे पर्यो । माहोल अनियन्त्रित बन्दै गएपछि भोले बाबाले करिब ५० मीनेटमात्र प्रवचन दिएर निस्किए । 

उनी बाहिरिएसँगै भक्तजनहरु पनि पछि-पछि दौडिन थाले । प्रहरीले उनीहरूलाई रोक्न प्रयास गरिरहेको थियो ।  तर, कार्यक्रमको मैदानबाट बाहिर निस्कने गेट साँघुरो भएका कारण मानिसहरु एकमाथि अर्कोलाई टेकेर दौडिन थाले । अवस्था यस्तो बन्यो कि, उनीहरुलाई नियन्त्रणमा लिने क्रममा आधा दर्जन प्रहरीसमेत भागदौडमा घाइते भए । 

बाहिर निस्कने गेट नजिकै एउटा नाला थियो । भागदौड मच्चिदा हजारौ मानिस उक्त नालामा खसे । जसको कारण अहिलेसम्म १३४ को मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये अधिकांश महिला छन् भने एक दर्जन बालबालिका रहेको बताइएको छ । विवरणअनुसार हजारौँ मानिसको उद्धार गरेर अहिले उपचारको लागि अस्पताल पठाइएको छ । 

उता कार्यक्रममा छोटो प्रवचन दिएर निस्केका भोले बाबा भने घटनापछि सम्पर्कविहीन रहेको समाचारमा उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान घटनाप्रति दु:ख व्यक्त गरेका छन् । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले पीडित परिवारलाई राष्ट्रिय राहत कोषबाट दुई लाख ५० हजार राहत उपलब्ध गराइने पनि घोषणा गरेका छन् ।

टिप्पणीहरू