राधिकालाई मुछेको कहाँ बिर्सनु उहाँले

राधिकालाई मुछेको कहाँ बिर्सनु उहाँले
सुन्नुहोस्

आफूले अरुका हकमा कसैको स्वार्थबमोजिम मनोमानी गरेपछि आफूमाथि पनि कसैको दादागिरी कसरी चल्दोरहेछ ? नेपाल प्रहरीका आइजी बसन्त कुँवर यसका भुक्तभोगी हुन् । 

कसैको उक्साहटमा जिल्ला खटाइएका एसपीहरूलाई एक महिनामै तान्नदेखि मेरिटलाई मिचेर बढुवा निकाल्दै थुप्रैको भविष्यमाथि खेलबाड गर्न बसन्त तम्सिए । फेरि उही स्वार्थी समूहको मोहोरा बन्न तयार नहुँदा आफ्नै पद धरापमा प¥यो । अन्ततः बालकोट धाएर कुरा मिलाउनुपर्ने भयो, मिल्यो पनि । उनलाई नहटाउनेमा प्रधानमन्त्री प्रचण्ड शुरुदेखि नै दृढ हुनुहुन्थ्यो भने कांग्रेसका नेता पनि हटाइहाल्नुपर्ने भन्नेमा छैनन् । भदौमा उमेरहद लागेर घर जाने तयारीमा रहेका एकजना एआइजीलाई जति दिन, महिना र हप्ताका लागि भए पनि आइजी बनाउने खेलो, गृहमन्त्रीले भनेजति मान्छे नसमातिदिएको रिसका बीचमा बसन्तको पद धरापमा परेको थियो । आलाकाँचा डिआइजी र एआइजीको घेराबन्दी, केटौले पाराको गृहमन्त्री भएपछि ती आइजीले कसरी काम गरेका होलान् ? ९ महिने जागिर बाँकी हुँदैमा पदको संकट यिनै परिस्थितिले सिर्जना गरेको चर्चा प्रहरी हेडक्वार्टरमा चल्ने गरेको छ ।

उता सहकारी ठगीमा मलेसियातिर फरार अभियुक्त तथा गृहमन्त्री रवि लामिछानेका पूर्वपार्टनर जिबी राईलाई समात्न अन्तर्राष्ट्रिय प्रहरी सञ्जालको मलेसियास्थित इन्टरपोल टोलीसँग समन्वयका निम्ति नेपाल प्रहरीको इन्टरपोल युनिटले त्यति तदारुकता देखाएको छैन । नेपालबाटै उति धेरै फलोअप नहुँदा जिबी पक्राउमा प्रगति नभएको बताइन्छ । अर्कातिर, गृहमन्त्री रविले पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको दावी गरे पनि मिसिलमा संलग्न गराउन छुटाइएको केवाइसी फारम फेला परेको अनुसन्धानमा संलग्न प्रहरीहरू बताउँछन् । यदि उक्त कागजात बाहिर आयो भने रविसहित उनलाई जोगाउनका लागि बोलिदिने प्रहरीदेखि महान्यायाधिवक्ता र सर्वोच्चका कर्मचारीसमेतको मुख बन्द हुने स्थिति छ । पोखरामा जस्तै बुटवलको सुप्रिम सहकारी ठगीमा पनि रविको संलग्नता देखिन्छ । तर, त्यहाँका प्रहरी पनि कास्कीमा झैं तर्साइएका छन् ।

आइजी हटाउने तहसम्मै चलखेल गर्न अग्रसर भएका श्यामलाल ज्ञवालीको आइजी हुने सम्भावना अब पूर्णतः समाप्त भएको गृह मन्त्रालयस्रोतले जनाएको छ । त्यसमाथि नक्कली भुटानी प्रकरणमा एमाले अध्यक्ष ओलीपत्नी राधिका र पिए राजेश बज्राचार्यहरूको नाम मुछ्ने काममा उनको संलग्न देखिएपछि बालकोट पनि उनीप्रति सकारात्मक छैन । गृहमन्त्रीलाई खुशी पार्नका निम्ति उनले रवि लामिछाने फाउण्डेशनका नाममा कालिकोटमा अस्पताल बनाउँदा र त्यसपछि पनि आएको विदेशी रकममाथिको छानवीन तुहाइदिएका छन् । बाल मन्दिरको जमिनसम्बन्धी लफडामा केही मान्छे समातेजस्तो गरेर पन्छिएका छन् पनि भनिन्छ । 

विभिन्न पदको अनुभवबिना नै सीधै आइजी बनाइँदा प्रहरी संगठनको कार्यसम्पादन परिपक्व हुँदैन भन्ने कुरा बसन्तको कार्यशैलीले पुष्टि गरेकै छ । तर, सरकारले यसबीच राम्रो काम ग¥यो, अब १६ महिनापछि आइजी चलाउनुपर्ने व्याचका एसएसपीलाई अहिल्यै डिआइजीमा बढुवा दिएर । दानबहादुर कार्की, डा.मनोज केसी, राजन अधिकारीमध्ये एकजनाले अर्को वर्षको भदौ २० गते आइजिपीको फुली लगाउनुपर्ने स्थिति छ । यसबीच रिक्त हुने एआइजीमा जसको पहिलो बढुवा हुन्छ, उही आइजी हुने देखिन्छ । 

अनि, गृहमन्त्रीको वकिलका भाञ्जाका साढुभाइलाई बढुवा ! उपत्यका ट्राफिक सम्हालेका डिआइजी पोषराज पोखरेललाई एआइजी पद रिक्त नहुँदै उक्त पदका निम्ति सिफारिस गरिएको छ । तर, फुली लगाएर हैन, सिफारिसमै घर जानुपर्ने खतरा छ । वरिष्ठ अधिवक्ता सुशील पन्त गृहमन्त्री रवि लामिछानेका कानुनी सल्लाहकार, सुशीलका भाञ्जा भूपूएआइजी दिवेश लोहनी र दिवेशका साढु भाइ भएबापत पोषराज सिफारिसमा परेका हुन् । तर, असार १९ गतेसम्म अहिलेका एआइजी उमेशराज जोशीको पद बहाल रहन्छ । त्यसैले यदि २० गते बिहीबार मन्त्रिपरिषद् बैठक बसेर उनको सिफारिस स्वीकृत भएन भने त्यही रात उनी सिफारिसकै बीचमा अवकाश हुन्छन् । यदि, मन्त्रिपरिषद् बैठक बसेछ र उनको सिफारिस स्वीकृत भएछ भने २० गते नै फुली लगाएर त्यही रातबाट जागिर सकिन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू