लिम्चुङबुङमा लोकलमा जोड, शिलप्याकमा प्रतिबन्ध

लिम्चुङबुङमा लोकलमा जोड, शिलप्याकमा प्रतिबन्ध
सुन्नुहोस्

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले मदिराजन्य पदार्थमा पूर्ण निषेध गरेको छ । गाउँपालिकाले अन्यत्रबाट आयात गरिने मदिराजन्य पदार्थमा पूर्ण रोक लगाएको छ । 

त्यस्तै, सूर्तीजन्य पदार्थमा पनि रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ्गले बताए । अठारौं कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । उनका अनुसार कोक, फ्यान्टा, रेडबुललगायतका पेय पदार्थमा पनि प्रतिबन्ध लगाइएको छ । 

‘यस गाउँपालिकाभित्र अन्यत्रबाट आयात गरिने सिसाजन्य मदिरा तथा पेयपदार्थहरु (बियर, रक्सी, डिउ, कोक, फ्यान्टा, रेडबुल, सूर्तीजन्य चुरोट, गुट्खा) आदि सामानहरुको सेवनले लिम्चुङबुङबासीहरुको स्वास्थ्यमा गम्भीर असर पारी रोगी बनाउने, स्थानीय अर्थतन्त्रलाई कमजोर बनाउने, महिला तथा घरेलु हिंसा उत्पन्न गर्ने तथा गाउँलाई विघटन बनाउन प्रत्यक्ष असर पार्ने भएको हुँदा लिम्चुङबुङबासीहरुलाई रोगबाट बचाउन, आर्थिक सुधार गर्न, विघटनोन्मुख गाउँलाई बचाउन, महिला तथा घरेलु हिंसाबाट उन्मुक्ति दिन आदिको निम्ति मिति २०८१–३–१८ गतेदेखि आयातमा पूर्ण रुपमा प्रतिबन्ध गरिएको...’,सूचनामा उल्लेख छ । 

त्यस्तै, हालसम्म आयात गरिएको त्यस्ता सामग्री आगामी असोज १५ गतेभित्र बिक्री गरिसक्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

टिप्पणीहरू