भोलि दलाई लामाको जन्मोत्सव मनाउन प्रशासनसङ्ग हारगुहार

भोलि दलाई लामाको जन्मोत्सव मनाउन प्रशासनसङ्ग हारगुहार
सुन्नुहोस्

नेपालस्थित तिब्बती शरणार्थीहरुले निर्वासित धार्मिक नेता दलाई लामाको जन्मोत्सव मनाउन आवश्यक तयारी गरेका छन् । भोलि जुलाई ६ तारिखका दिन दलाई लामाको ८९ औं जन्मोत्सव मनाउन आवश्यक सहयोगका लागि तिब्बती शरणार्थी समुदाय कार्यालयले जिल्ला प्रशासन कार्यालय,काठमाडौंलाई औपचारिक अनुरोध गरेको छ ।

अस्ति तिब्बती शरणार्थीका प्रतिनिधि ङवाङ छोक्डुप,बौद्धस्थित क्याम्प प्रमुख फुर्बु र सचिव कर्मा ग्याल्छेनले लेखेको पत्रमा सिडिओ जितेन्द्र बस्नेतलाई काठमाण्डौमा आफ्नो कार्यक्रम सफल बनाउन सुरक्षा व्यवस्थाको निम्ति आग्रह गरिएको छ । उनीहरुले हरेक वर्ष मनाइएको यस्तो कार्यक्रम यो वर्ष बौद्ध तीनचुलीस्थित स्रोङचेन भृकुटी स्कूलमा मनाइने जानकारी दिएका छन् ।

भोलि उक्त स्कूलमा पूजापाठ र सांस्कृतिक कार्यक्रम राखिएको छ । आफूहरुले नेपाल सरकारको कुनै पनि नीति र कानुनविरुद्ध कुनैपनि गतिविधि नगर्ने प्रतिबद्धता पनि उनीहरूलेले जनाएका छन् । पत्रमा लेखिएको छ, ‘यस कार्यक्रमलाई सफल बनाउन सुरक्षा व्यवस्थाको लागि श्रीमानसमक्ष विनम्र अनुरोध गर्दछौं ।’

टिप्पणीहरू