एकले अर्कालाई अल्मल्याउन ओली-प्रचण्ड अझै अग्रसर

एकले अर्कालाई अल्मल्याउन ओली-प्रचण्ड अझै अग्रसर

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग काँग्रेस सभापति शेरबहादुर देउवाले बालकोट र बूढानीलकण्ठमा लगातार  गर्नुभएको अप्रत्यासित भेटपछि तरंगित नेपाली राजनीति भुसको आगोझैं तरंगित छ । हिजो र आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको भेटवार्ताले शंका गर्ने र शंकाको लाभ लिँदै राजनीतिक विश्लेषण गर्नेलाई पनि नयाँ बल मिलेको छ ।

कतिपयले उहाँहरुबीचको भेट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) लाई टुंगोमा पुर्याउने प्रयासमा भएको अर्थ लगाएका छन् । तर,समग्रमा प्रधानमन्त्रीमाथि थप दबाब बढाउने एमाले रणनीतिमा पछिल्लो भेटघाट भएको भन्नेहरु पनि कम छैनन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद दिपक गिरीले ठूला राजनीतिक दलका शीर्ष नेताहरुबीचको भेटलाई कसैले पनि शंकाको दृष्टिकोणले हेर्न नपर्ने भन्दै माओवादी केन्द्रतर्फ संकेत गरेका छन् । आजै माओवादी सांसद माधव सापकोटाले संसद बैठकमा देउवा र ओलीको भेटलगत्तै सत्ता समीकरणमा कुनै परिवर्तन नआउने ठोकुवा गरेका छन् ।

हिजो दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीसँग भेट गर्नुभएका एमाले अध्यक्ष आज बिहान पौने ९ बजे एकाएक बालुवाटार पुग्नुलाई बूढानीलकण्ठ निकटहरुले ‘प्रधानमन्त्रीलाई कुर्सी छाड्नुस्’ भन्न गएको रुपमा अर्थ्याएका छन् । तर, बालुवाटार स्रोतले ती सबै आशंका मात्रै भएकाले यथार्थ अर्कै रहेको जनायो । 

स्रोत भन्छ, ‘हिजो पनि सिंहदरबारमा छलफल भयो । सरकार सञ्चालनको विषयलाई लिएर एमालेको आशंका र असन्तुष्टि रहिआएको विषयलाई अध्यक्ष ओलीले अलि विस्तृत रुपमा जानकारी गराउनुभयो । बैठकमा प्रधानमन्त्री र उहाँ दुबैजना प्रसन्न मुद्रामा हुनुहुन्थ्यो ।’

एकथरीले धितोपत्र बोर्ड नेपाल (सेबोन) को महिनौंदेखि रिक्त अध्यक्ष नियुक्तिको प्रक्रिया रद्ध भएपछि एमाले अध्यक्ष अलिबढी अघि सर्नुभएको बताएका छन् । बिचौलिया दिपक भट्टले अघि सारेका सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष बनाएर नयाँ स्टक एक्सचेञ्ज हात पार्ने उनी र उनको समूहको योजना हाललाई तुहिएर पनि आशंकामा बल मिलेको हो ।

‘सानातिना र झिनामसिना कुरा मिलाऔं । हामीबीच कुनै आशंका भए त्यो पनि मिलेर हटाऔं । सत्ता गठबन्धनलाई अझ बलियो बनाऔं,’ प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीलाई भन्नुभयो । 

त्यसैगरी गत महिनाको झण्डै एक दर्जन राजदूत सिफारिसमा साउदी अरेबिया र बेलायतमा स्वार्थ बाझिएका  व्यक्तिको नाम परेपछि पनि एमालेले असन्तुष्टि पोखेको छ । 

आर्थिक वर्ष २०८१–८२ को बजेट सम्बन्धमा पनि उहाँले कतिपय असहमति जनाइसक्नुभएको छ । नीति, कार्यक्रम र बजेट तर्जुमाको क्रममा पार्टीगत छलफल नगरिएको र बजेट सम्बन्धमा आफूसँग एक पटक पनि सोधनी नगरेको भन्दै एमाले अध्यक्षले सार्वजनिक रुपमा बजेटको आलोचना गर्दै आउनुभएको छ ।

तर,आज बिहान बालुवाटारको बाल्कोनीमा भएको भेटमा अध्यक्ष ओलीले देउवासँगको अस्तिको कुराकानीबारे जानकारी गराउनुभएको पक्कै हो । उहाँको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘बाहिर तपाईं (प्रधानमन्त्री) र म दुबैले आफू अनुकूलका कुरा भन्दै आएका छौं । तर सरकार सञ्चालनका केही विषयले आशंका उत्पन्न गराएको चाहि पक्कै हो । अस्ति बेचन झा समातिएपछि काँग्रेस तरंगित हुनु कुनै अचम्म भएन । कुराकानी यसैको सेरोफेरोमा भएको हो ।’

झाले बयानको क्रममा काँग्रेस नेतृ तथा देउवापत्नी आरजू र कृष्ण सिटौलालाई समेत तान्नसक्ने सम्भावनालाई ध्यानमा राखेर शनिबार दिउँसो देउवा श्रीमतीसहित एकाएक बालकोट पुगेको विषय पनि ओलीले उल्लेख गर्नुभएको थियो । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षासँगै काँग्रेस नेतृत्वले बालकोटमा राखेका सबै प्रस्ताव जस्ताको तस्तै आज बिहान बालुवाटारमा पोखिएको स्रोतले बतायो ।

स्रोत भन्छ, ‘काँग्रेसले यसो यसो भन्यो भन्नुभयो । प्रधानमन्त्री र आफूबीच भएका यसअघिका भेट र राजनीतिक घटनाक्रमको समीक्षा गर्नुभयो । र, काँग्रेसले सत्ता समीकरण फुटाउन खोजेको कुरो पनि चुहाइदिनुभयो ।’ 

यता प्रधानमन्त्री दाहालले जवाफमा वामपन्थीसँगै अरु पक्ष र विचारका राजनीतिक दललाईसमेत सरकारमा सामेल गराएर २०८४ सम्म गठबन्धन लैजाने विगतको सहमतिलाई पुनः स्मरण गराउनुभएको छ । ‘सानातिना र झिनामसिना कुरा मिलाऔं । हामीबीच कुनै आशंका भए त्यो पनि मिलेर हटाऔं । सत्ता गठबन्धनलाई अझ बलियो बनाऔं,’ प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीलाई भन्नुभयो ।

हिजो दिउँसो सिंहदरबार र आज बिहान बालुवाटारमा भएको नेताहरुबीचको छलफलमा टिआरसीको बारेमा कुरै नउठेको बुझिएको छ । बरु बालकोटमा आफूलाई भेट्न काँग्रेसी नेताहरु बेलाबखत आइरहने ओलीले बताउनुभएको छ । शनिबारको भेटबारे अध्यक्ष ओलीको भनाई थियो, ‘भेट्न आउँछौं भने,आए पनि । सोही क्रममा देउवाले लौ सरकार चलाउनुस हामी समर्थन दिन्छौं भने । दुई पार्टी मिलौं, प्रचण्डलाई देखाइदिउँसमेत भनेका छन् ।’

मुख्य प्रतिस्पर्धी दलसँग मिलेर जान हुँदैन भन्नेमा आफू अडिग रहेकोमा उहाँले प्रधानमन्त्रीलाई आश्वस्त पार्नुभएको छ । प्रधानमन्त्रीले पनि आफू काँग्रेसमा मरिगए नटाँसिने वचन एमाले अध्यक्षलाई आजै दिनुभएको बताइन्छ । प्रधानमन्त्रीको भनाई थियो, ‘बजेटको बेलामा काँग्रेसीहरु यहाँ पनि आएका थिए । नयाँ राजनीतिक गठबन्धनको कुरा गरे । उक्त प्रस्तावलाई मैले असम्भव भनेर उतिबेलै पठाइदिएको थिएँ, अहिले तपाईंकोमा पुगेछन् ।’

तर, बालुवाटार निकटस्थ माओवादी नेताहरुले अध्यक्ष ओलीले काँग्रेस शीर्ष नेतासँगको भेटलाई आफ्नो हात माथि पार्ने हतकण्डाको रुपमा प्रयोग गर्न खोजेको अर्थ लगाएका छन् । यसबीचमा सेबोन अध्यक्ष, सरकारका मुख्यसचिव आफ्नो पोल्टामा पार्न चालबाजी भएको उनीहरुको निचोड छ । प्रधानमन्त्री दाहाल स्वयम्ले आज बिहानको भेटमा झिनामसिना कुरा मिलाउन र कमजोरी सच्चाउन आफू तयार रहेको वचन दिइसक्नुभएको छ ।

टिप्पणीहरू