प्रधानमन्त्रीलाई ओलीले ढाँटेको देउवाद्वारा खुलासा

प्रधानमन्त्रीलाई ओलीले ढाँटेको देउवाद्वारा खुलासा
सुन्नुहोस्

बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठक केहीबेर अघि सकिएको छ । बैठक बसिरहेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।

बैठकमा ओलीसँग हिजो र आज भएका कुराकानीबारे प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्नुभएको छ । माओवादी बैठकले परिस्थितिलाई नियाल्दै जाने र सँगसँगै सबै पक्षसँग सल्लाह गर्ने निर्णय लिएको छ ।

प्रधानमन्त्रीले बैठकलाई सम्बोधन गर्दै भन्नुभएको छ,‘केही बिग्रिएको छैन । एमालेले विश्वासको मत फिर्ता लिने कुरो छ,तर म संसद फेस गर्छु । गठबन्धनमा रहेका सबै दलसँग कुरा गरेर अघि बढ्ने हो ।’

माओवादी पदाधिकारी बैठक सरकार परिवर्तनभन्दा पनि एमाले र काँग्रेसले उठाएको संविधान संशोधनको कुरोमा बढी सशंकित भएको पाइएको छ । समानुपातिक निर्वाचन माओवादीको एजेण्डा भएकाले त्यसमा गर्न खोजिएको उलटपलट स्वीकार्य नहुने नेताहरुले बताएका छन् ।

‘सबै वामपन्थीलाई मिलाएर लैजाने उद्देश्यले म पछिल्लो गठबन्धनमा आएको हुँ । नत्र काँग्रेसले चलाऊ भनेकै थियो, किन यो दुःख गर्नुपरेको थियो र !’

बैठकमा सहभागी एक जना नेताका अनुसार प्रधानमन्त्रीले हिजो बिहान ९ बजेदेखि साढे १२ बजेसम्म एमाले अध्यक्षसँग बालुवाटारमा भएको कुराकानीको पूरै रिपोर्टिङ गर्नुभएको थियो । ओलीले समीकरण परिवर्तनबारे केही सोच नभएकाले सँगै मिलेर जाने र स्वर्ग वा नर्क जहाँ गए पनि एमाले र माओवादी अध्यक्ष सामना गर्ने बताएर प्रचण्डको मन जित्नुभएको थियो ।

राति काँग्रेससँग नयाँ सरकार गठनको लिखित सहमति गरेपछि उहाँ आज बिहान बालुवाटार पुग्नुभयो । भेटमा उही ‘केही पनि नभएको’ कुरो दोहोर्याएपछि प्रधानमन्त्रीले तपाईं अझै पनि ढाँट्दै हुनुहुन्छ भनेर जवाफ फर्काउनुभएको बुझिएको छ ।

प्रधानमन्त्रीको जवाफपछि ओलीले नरम हुँदै ‘काँग्रेसले राष्ट्रिय सहमतिको सरकारको कुरो ल्याएको’ जानकारी दिनुभएको बालुवाटार स्रोतको भनाई छ । प्रधानमन्त्रीले पुनः ‘तपाईंहरुबीच मिलिसकेको कुरोबारे मलाई किन ढाँट्नुहुन्छ ? सिधा सिधा भने भइहाल्थ्यो नि’ भनेर जवाफ फर्काएपछि ओलीले कुरो अन्तै मोड्नुभएको थियो ।

प्रचण्डले आज बिहान ओलीलाई प्रधानमन्त्री चाहिएको भए ‘तपाईं चलाउनुस् र म छाडिदिन्छु’ सम्मको अफर दिनुभएको थियो । प्रधानमन्त्रीको भनाई थियो, ‘सबै वामपन्थीलाई मिलाएर लैजाने उद्देश्यले म पछिल्लो गठबन्धनमा आएको हुँ । नत्र काँग्रेसले चलाऊ भनेकै थियो, किन यो दुःख गर्नुपरेको थियो र !’

गठबन्धन अगाडि बढाउन सरकारको नेतृत्व लिन आग्रह गर्दै प्रधानमन्त्रीले ओलीसँग काँग्रेससँग भएको सहमतिभन्दा फरक ढंगले प्रस्तुत भएकोमा चित्त दुःखाउनुभएको हो ।

आजै बिहान काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसँग भएको टेलिफोन वार्तामा सहमतिका सबै कुरा बताइसक्नुभएको थियो । देउवाले उहाँलाई ‘सबै मिलिसक्यो,अहिलेलाई सरी है’भन्नुभएको रहेछ ।
 
तर, एमाले अध्यक्ष भने राष्ट्रिय सहमतिको सरकारको अडान लिएर काँग्रेस आफूसमक्ष आएको र हिजो त्यही सिलसिलामा भेटघाट भएको भनाइमा अडिग देखिनुहुन्छ ।

टिप्पणीहरू