टेलिभिजनहरु टाट पल्टिँदै, टिभी टुडेमा पनि तनाव

टेलिभिजनहरु टाट पल्टिँदै, टिभी टुडेमा पनि तनाव

पछिल्लो समय एकपछि अर्को टेलिभिजन टाट पल्टिएका खबरहरु सार्वजनिक भैरहेका छन्। कोभिडपछि धराशायी बनेको सञ्चार क्षेत्र अहिलेसम्म उठ्न सकेको छैन । 

अर्थ र विज्ञापन बजार ओरालो लागेपछि केही टेलिभिजन र पत्रिका लगायतका सञ्चारमाध्यम बन्द हुने अवस्थामा छन् भने केहीले कर्मचारीलाई तलबै दिइरहेका छैनन् । 

अस्तिमात्रै नेपालकै ठूलो टेलिभिजन मानिने भाष्करराज राजकर्णिकारको एभिन्युज टेलिभिजन टाट पल्टिएको खबर आएको थियो । सो टेलिभिजन आर्थिक संकटले थलिएपछि स्थापना कालदेखि रहेका व्युरो कार्यालयहरु खारेज गरिएको सार्वजनिक सूचना जारी आएको थियो । त्यसका साथै टेलिभिजनका कर्मचारी कटौती गर्नेदेखि तलब नदिनेसम्मका समस्या टेलिभिजनले झेल्दै आएको थियो । 

यही क्रममा सुदूरपश्चिमतिरका सञ्चालक रहेको टिभी टुडेमा पनि कर्मचारीले तलब नपाउने समस्या बढेर गएको बताइएको छ । काठमाडौंबाट सञ्चालित सुदूरपश्चिम केन्द्रित टिभी टुडेमा संकट मडारिएपछि एकपछि अर्को गर्दै कर्मचारी बाहिरिने क्रम पनि चलेको पाइएको छ । यस्तै छोड्ने कर्मचारीहरुले लाखौं तलव रकम पनि नपाएको गुनासो गरेका छन् । हालैमात्र सो टेलिभिजन केही कर्मचारीले छोडेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । त्यस्तै हाल कार्यरत कर्मचारीहरुले पनि तलब पाउने कुरामा समस्या रहेको बताएका छन्। उनीहरूले पत्रकारका संघ संगठनलाई पनि तलब प्राप्तिका लागि गुहारिरहेको चर्चा छ। 

तर उता टिभी टुडे मिडिया नेटवर्कका कार्यकारी अध्यक्षसमेत रहेका जनकराज पन्तले भने नियमित तलब दिइरहेको दाबी गर्दै कसैको पनि तलब नरोकिएको दाबी गरेका छन्। उनले केही महिनाको केही कर्मचारीको तलब रोकिएको भएपनी आफ्नो टेलिभिजन कुनै पनि खालको समस्यामा नरहेको जनाए। उनले टेलिभिजन समस्यामा गएपछि स्कुल चलाउने नयाँ धन्दा सुरु गरेको दाबी गरिएको छ।
 

टिप्पणीहरू