महामन्त्री निलम्बनमा परेपछि निशा दंग, प्रतिक्रियामा प्रेमभावका अनेक प्रसंग

महामन्त्री निलम्बनमा परेपछि निशा दंग, प्रतिक्रियामा प्रेमभावका अनेक प्रसंग
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री मुकुल ढकाललाई गरिएको निलम्बनप्रति खुशी व्यक्त गरेकी छन् । पार्टीले गरेको कारबाहीमा आफू सहमत भएको जनाउँदै उनले महामन्त्री ढकाललाई प्रतिवेदनको कारण नभई व्यक्तिगत व्यवहारको कारण कारबाही गरिएको उल्लेख गरिन् । 

केन्द्रीय समितिको हिजो बसेको बैठकले महामन्त्री ढकाललाई निलम्बन गरिसकेको छ । बैठक सकिएपछि सहप्रवक्ता मनिष झाले उपस्थित ५२ केन्द्रीय सदस्यमध्ये ५१ जनाले महामन्त्रीलाई कारबाही गर्नुपर्ने बताएको जानकारी दिएका थिए । उनको अभिव्यक्तिले घुमाउरो भाषामा सांसद डाँगी मात्र महामन्त्रीको पक्षमा रहेको आशय प्रकट गरेको थियो ।

डाँगीले केहीबेर अघि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै त्यसबारे स्पष्ट पारेकी छन् । आफू पनि महामन्त्री ढकाललाई गरिएको कारबाहीको पक्षमा रहेको उल्लेख गरेकी हुन् ।

‘प्रतिवेदनमा सहमति वा असहमति हुँदाहुँदै पनि महामन्त्रीको व्यक्तिगत व्यवहारप्रति आपत्ति जनाउँदै केन्द्रीय समितिले उहाँलाई निलम्बन गर्ने निर्णय गरेको छ’,उनले भनेकी छन्, ‘उहाँको प्रतिवेदन र उहाँलाई गरिएको कारबाही दुई फरक विषय हुन्,प्रतिवेदनले हाम्रो राजनीतिक नेतृत्वदेखि आम नेता कार्यकर्ता सबैलाई गम्भीर हुनका लागि झक्झक्याएको छ ।’ 

सांसद डाँगीले स्टाटसको अन्त्यमा संस्कृतको एउटा श्लोक लेखेकी छन्, जुन महामन्त्री ढकालका पुराना अन्तर्वार्ताहरुमा सुन्न सकिन्छ । ‘संस्कृतमा एउटा उक्ति छ– वादे वादे जायते तत्त्ववोधः । अर्थात्, बहस र वादविवादबाट नै तत्व वोध हुनसक्छ । यस बहसले हामीलाई अझ समुन्नत र परिष्कृत बनाउनेछ’, उनले थपेकी छन् । 

डाँगीको उक्त स्टाटसमा मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपयले राम्रो भनेका छन् भने कतिपयले उक्त स्टाटस नै महामन्त्री ढकालले लेखेको हुनसक्ने आशंका गरेका छन् । 

टंक खातीले राजनीति र प्रेम एउटै नहुने भन्दै लेखेका छन्, ‘दर्द होइग्यो,मुटुमा बसेको मान्छेको विरूद्दमा नबोल्नु न म्याडम !’

नवीनसिंह ठकुरीले भने फरक मत राख्दै रास्वपा ठग र म्यानपावर दलालहरुको मात्र पार्टी भएको जिकिर गरेका छन् । उनको तर्क छ, ‘ठग र मेनपावर दलाललाई भगवान मान्नेले मात्र अब राष्ट्रिय स्वतन्त्र पार्टीमा बस्दा हुने भयो, लोकतन्त्रमा जहाँ फरक विचारको सम्मान हुँदैन त्यहाँ पार्टी नै हुँदैन ।’ 

महामन्त्री ढकालले प्रतिवेदनको मुद्दालाई पन्छाउन पार्टीभित्र कतिपयले आफ्नो व्यक्तिगत कुरालाई इस्यु बनाएको बताएका थिए । ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग बिहे गर भन्छ भने पनि तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ’, उनले प्रतिवेदनमा भनेका थिए, ‘तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ, त्यही दिन गरिदिनुहोस् ।’

टिप्पणीहरू