कार्यकारी निर्देशकको पूर्व निर्धारित अन्तवार्ता स्थगन

कार्यकारी निर्देशकको पूर्व निर्धारित अन्तवार्ता स्थगन

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक नियुक्तिको प्रस्तुतीकरण तथा अन्तवार्ता स्थगन भएको छ । बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले उक्त जानकारी गराएको छ । 

यसअघि बोर्डमा रिक्त कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तवार्ता भोलि र पर्सिका लागि तोकिएको थियो । तर, समितिद्वारा आज जारी सूचनामा अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको उल्लेख छ । 

भनिएको छ, ‘दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण यही असार २० गते र अन्तवार्ता २१ गत सञ्चालन हुने गरी तोकिएकोमा सिफारिस समितिको मिति २०८१÷०३÷१९ गतेको निर्णयअनुसार अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको छ ।’

समितिले गत जेठ ८ गते बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन माग गरेको थियो । असार २७ गतेसम्म आवेदन पेश गर्ने समय तोकिएकोमा समितिले १३ गते सात जनाको नाम सिफारिस गरेको थियो । गौरव लुइँटेल, नवराज सापकोटा, फाइन्द्रराज पाण्डे, मनोज बस्नेत, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र डा.विष्णुप्रसाद भट्टराई सिफारिसमा परेका छन् ।

टिप्पणीहरू