अरु सबै सँधै दोषी,रवि सदाबहार ‘निर्दोषी’

अरु सबै सँधै दोषी,रवि सदाबहार ‘निर्दोषी’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि उनकै पार्टीका महामन्त्री मुकुल ढकालले गम्भीर आरोप लगाएका छन् । लगत्तै ढकालमाथि पार्टीले निलम्बनको कारबाही गरेको छ ।

हिजोको पार्टी बैठकमा मुखमा कालोपट्टी बाँधेर अनुशासनहीन काम गरेको भन्दै रविको अध्यक्षतामा बसेको केन्द्रीय समितिको हिजोको बैठकले निलम्बन गरेको हो । तर,मुकुलमाथि पार्टीको अनुशासन आयोगले एक हप्ताका लागि निलम्बन गर्न यसअघि नै सिफारिस गरेको थियो ।

पार्टीको सांगठनिक अवस्थाबारे ढकालले गरेको देशब्यापी अध्ययन र अनुगमन प्रतिवेदनमा पार्टीलाई अप्ठेरो पार्ने विषय उल्लेख गरेको, प्रतिवेदन सञ्चारमाध्यमहरुमा पुर्याएको भन्दै केन्द्रीय समिति बैठक अगावै आयोगले कारबाहीको सिफारिस गरेको थियो ।

तर, महामन्त्रीले पार्टी सरकारमा गएपछि इमेज र क्रेज घटेको विषयमा सभापति लामिछाने सहमत नभएको आरोप लगाएका छन् । हिजो बैठकलाई प्रत्यक्ष प्रशारण गर्न नदिइएको, बैठकमा आफ्ना धारणा राख्न नदिइको जनाउँदै उनले बैठकबाट बाहिरिँदै भनेका थिए, ‘गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक र राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री भन्ने पद बराबरी र एउटै मानकको पद हो । जतिबेला उहाँ (रवि) प्रबन्ध निर्देशक हुँदा अध्यक्ष जिबी राई मात्र दोषी देखिए ।’ 

तर आज उहाँ (रवि) सभापति र म (मुकुल) महामन्त्री हुँदा सम्पूर्ण कुराको दोषी महामन्त्री नै भन्ने भाष्य निर्माण गरिएको छ । उनले अलि अगाडिको सन्दर्भ कोट्याउँदै भनेका छन्, ‘जब उहाँ (रवि) पत्रकार हुनुहुन्थ्यो नेता दोषी भएका थिए । तर उहाँ नेता भएपछि पत्रकारलाई दोषी देख्नथाल्नुभयो । हिजो संसदमा प्रतिपक्षमा हुँदा सत्तापक्ष दोषी भन्न छुटाउनुभएन । आजसम्म सत्तापक्ष हुँदा प्रतिपक्ष दोषी भएको छ ।’
 

टिप्पणीहरू