आधा असार सकिँदा खेत अझै बाँझो

आधा असार सकिँदा खेत अझै बाँझो
सुन्नुहोस्

असार लागेपछि मुुलुकभरका किसान धान रोपाइँमा व्यस्त देखिन्छन् । यो समय किसानहरु धान रोपाइँमा सबैभन्दा बढी व्यस्त हुने बेला हो । तर, समयमै पानी नपर्दा रोपाइँमा केही ढिलाई भएको बताइन्छ ।  

कृषि विभागअन्तर्गत बाली विकास तथा कृषि जैविक संरक्षण केन्द्रका अनुसार आधा असार सकिँदा देशभर मुश्किलले २० प्रतिशत मात्र रोपाइँ भएको छ । यो साताको प्रारम्भसम्म कुल दुई लाख ८८ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । यो कुल धानखेती हुने खेतको २० दशमलब ०६ प्रतिशत मात्रै हो । गत वर्ष सोही अवधिमा २२ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो । 

सुदूरपश्चिममा आधा सकियो, मधेशमा शुरु 

केन्द्रका अनुसार हालसम्म सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । यो वर्ष एक लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान छ । सुदूरपश्चिममा हालसम्म ५४ दशमलब ०५ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको तुलनामा यो ६ प्रतिशतले बढी हो । 

त्यस्तै, धान उत्पादनको निम्ति सबैभन्दा उर्वर मानिएको मधेश प्रदेशमा भने निकै कम रोपाइँ भएको केन्द्रले जनाएको छ । यो वर्ष मधेशमा तीन लाख ८३ हजार १५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान छ । तर असार तेस्रो साता लाग्दासम्म ८ दशमलब १७ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष सोही अवधिमा ९ दशमलब ५२ प्रतिशत रोपाइँ भएको थियो । 

बागमती प्रदेशमा यो वर्ष एक लाख १२ हजार २७३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा १९ दशमलब २४ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा २७ प्रतिशत रोपाइँ भएको थियो । 

यस्तै, यो वर्ष कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमा धान खेती हुने सरकारी अनुमान छ । यहाँ १३ दशमलब ५ प्रतिशत रोपाइँ सकिएको केन्द्रले जानकारी दिएको छ । गत वर्षको यही अवधिमा १६ प्रतिशत रोपाइँ भइसकेको थियो । 

गण्डकी प्रदेशमा ९८ हजार ९०४ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा असार १६ गतेसम्म २१ दशलमब ५२ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा यहाँ १७ प्रतिशत रोपाइँ भएको थियो । लुम्बिनी प्रदेशमा यो वर्ष तीन लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ । 

त्यसमध्ये आधा असारसम्म २२ दशमलब ७९ प्रतिशत रोपाइँ सकिँदा गत वर्षको यही अवधिमा २४ प्रतिशत भएको थियो । यता, कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । तर असार १६ गतेसम्म २३ दशमलब ८९ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । गत वर्ष सोही अवधिमा ४५ प्रतिशत रोपाइँ सकिएको थियो । 

रोपाइँ भइरहेको सरकारी दाबी 

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका सूचना अधिकारी बलराम रिजाल मनसुनका कारण रोपाइँमा केही ढिलाई भएको बताउँछन् । तर, यसले रोपाइँमा केही प्रभाव नपर्ने उनको भनाइ छ । ‘पूर्वतिर मनसुन छिट्टै भित्रिएपनि देशभर फैलिन समय लाग्यो । जसले गर्दा रोपाइँमा केही ढिलाई भएको हो,’ उनले भने । 

अर्कोतर्फ, खडेरीका कारण बीऊ राख्न ढिला भएकाले पनि किसानहरुले विस्तारै धान रोपाइँ गरिरहेको उनको दाबी छ । उनले पछिल्लो एक सातायता देशभर तीव्र रुपमा रोपाइँ भइरहेको जानकारी दिएका छन् । 

सूचना अधिकारी रिजालले भने, ‘पानी परेकाले पछिल्लो साता रोपाइँमा वृद्धि हुँदै गएको छ ।’ अहिले सबै प्रदेशका किसान रोपाइँको तयारीमा जुटेकाले थप वृद्धि हुने उनले बताए । 

रोपाइँ हुने जमिन घट्यो 

यो वर्ष १३ लाख ९८ हजार ८३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने सरकारी अनुमान छ । जुन अघिल्लो वर्षको तुलनामा ४० हजार १५३ हेक्टर क्षेत्रफल कम हो । गत वर्ष १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

गत वर्ष कम क्षेत्रफलमा रोपाइँ भएपनि धानको उत्पादन भने अघिल्लो वर्षको तुलनामा ४ दशमलब ३३ प्रतिशतले बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८००८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भयो । 

जबकी आर्थिक वर्ष २०७८/०७९ मा कुल १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको सरकारी तथ्याङ्क छ । 

औचित्यहीन धान दिवस

सरकारले हालै मात्र २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ । यस वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारा लगाउँदै दिवस मनाइएको थियो । सरकारी निकायले वर्षेनी प्रचारात्मक कार्यक्रम गरी धान दिवस मनाइरहँदा धानको उत्पादन भने अपेक्षाकृत रुपमा बढ्न सकेको छैन । 

केही दशक अघिसम्म धान निर्यात गर्ने मुलुकको रुपमा परिचित नेपाल अहिले आवश्यकता पूर्तिका लागि विदेशबाट चामल आयातमा निर्भर रहनुपर्ने अवस्था छ । 

धान विश्वको मकैपछि दोस्रो महत्त्वपूर्ण खाद्यान्न बाली हो । विश्वको करिब ९० प्रतिशत धान उत्पादन क्षेत्र एसियामा पर्छ । त्यसैले, विश्वको कुल उत्पादनमध्ये ९० प्रतिशत उत्पादन र खपत एसियाली मुलुकहरुमै हुने गरेको छ । सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन हो । त्यसपछि भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्रहरु हुन् भने नेपाल १६ औं स्थानमा पर्दछ ।

 नेपालमा चामलको माग कति ?

नेपालमा वर्षेनी चामलको माग बढ्दो छ । अन्य खाद्यान्नको सट्टा भात खाने संस्कार बढ्दै गएकोले हरेक वर्ष विदेशबाट चामलको आयात बढ्दो क्रममा छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन चामलको माग हुने गरेको छ । 

मुलुकमा खपत हुने चामलको करिब २० प्रतिशत विदेशबाट आयात गरिन्छ । त्यसका लागि वर्षेनी ३० अर्ब रुपैयाँभन्दा बढी खर्चिनुपर्ने अवस्था छ ।स्वदेशी माटोमा पर्याप्त परिमाणमा उत्पादन नभई धान चामलमा परनिर्भरता हुनुमा बढ्दो जनसंख्याको वृद्धिको तुलनामा धान उत्पादनको वृद्धिदर कम हुनु, खेतीयोग्य जमिन खण्डीकरण तथा घडेरीकरण, श्रम शाक्तिको अभाव, सिँचाई, भण्डारण तथा बजार पूर्वाधार पर्याप्त नहुनु मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
 

टिप्पणीहरू