जिल्ला नछाड्न सिडिओ र सुरक्षा प्रमुखहरुलाई गृहसचिवको निर्देशन
गृहसचिव एकनारायण अर्यालले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुलाई अति जरुरी काममा बाहेक जिल्ला नछाड्न निर्देशन दिएका छन् । उनले मनसुन मुलुकभर भित्रिइसकेकाले सम्भावित विपद्लाई लक्षित गर्दै विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न उनीहरूलाई निर्देशन दिएका हुन् ।
७७ वटै जिल्लाका कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका पदाधिकारीसँग गरिएको ‘भर्चुअल’ बैठकमा विपद्जन्य घटना व्यवस्थापन गर्न, आफ्ना जिल्लाका स्थानीय तहहरूसँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको बताइएको छ ।
निर्देशन दिँदै सचिवले भनेका छन्, ‘प्रदेश सरकार, निजी क्षेत्र, सामाजिक संस्थाको परिचालन, समन्वय, सडक विभागले तयारी अवस्थामा राखेका उपकरण मुख्य राजमार्गमा तैनाथ गरियोस् । त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरियोस् ।’
छलफलमा स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा स्थानीय तह नै रहेको बताइएको छ । त्यसैले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वयका लागि सिडियो र सुरक्षा निकायका जिल्ला प्रमुखहरुलाई आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिइएको हो ।
तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न भनिएको छ । विपद्बाट मानवीय क्षति व्यहोर्न पुगेका परिवारहरूसमक्ष आफैँ उपस्थित भएर सहानुभूतिसहित आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई विशेष निर्देशन दिइएको छ ।
टिप्पणीहरू