धर्म कमाउन जाने जसले ज्यान गुमाए

धर्म कमाउन जाने जसले ज्यान गुमाए

हजारौं हजयात्री मृत्युको कारण ‘प्रचण्ड गर्मी’, त्यसमा नेपालीको अवस्था के ?  साउदी अरब (मक्का मदिना) पुगेका सयौं हज यात्रीको मृत्यु भएपछि अन्तर्राष्ट्रिय समुदायले पनि त्यसप्रति चासो देखाएको छ । समाचार एजेन्सीका अनुसार त्यहाँको तापक्रम ५१ डिग्री वरिपरि छ । यो तापमानको सामना गर्न नसकेर दिनहुँजसो हजयात्रीको मृत्यु भइरहेको छ । 

एएफपीका अनुसार अहिलेसम्म मिश्रका मात्रै लगभग ६८५ जनाको मृत्यु भइसकेको छ । साउदीका कूटनीतिक अधिकारीले अरु पनि मारिएको पुष्टि गरेका छन् । त्यस्तै इण्डोनेसियाले आफ्ना २०० भन्दा धेरै हजयात्रीको मृत्यु भएको जनाएको छ भने छिमेकी भारतका ९८ जना हाजीको ज्यान गएको छ । 

नेपालबाट पनि यस वर्ष ७६५ जना हजयात्रीसँग १० जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली गएको थियो । एक महिना लामो यात्रा सकेपछि उनीहरू १० दिनका लागि मदिनाको यात्रामा छन् । जेद्दास्थित महावाणिज्यदूत शत्रुघ्न पोखरेलका अनुसार बाँकेकी ६० वर्षीया सायरा बानो सैयदको मृत्यु भएको छ । उनी मधुमेह र मिर्गौलाको बिरामी थिइन् । बाँकी नेपाली हजयात्रीको अवस्था भने सकुशल रहेको अधिकारीहरूले जनाएका छन् । 

यसबाहेक पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, ट्युनिशिया, सुडान, इरान तथा कुर्दिस्तानका समेत हजयात्रीहरूको मृत्यु भएको सम्बन्धित देशले पुष्टि गरेका छन् । वाल स्ट्रिट जर्नलले अमेरिकीहरूको पनि मृत्यु भएको जनाएको छ । यो यात्राका क्रममा हजारौं बेपत्ता भएका छन् । कैयौं आफन्त खोजीका लागि साउदी पुगेका छन् । हरेक वर्ष मुस्लिम समुदायका लाखौं मानिस साउदी पुग्छन् । इस्लाम समुदायमा हजयात्रालाई जीवनको ‘सार्थकता’सँग जोडेर हेरिन्छ । 

समाचार एजेन्सीहरूका अनुसार मृत्यु भएकामध्ये धेरैजसो तीर्थयात्रीका रूपमा दर्ता भएका छैनन् । जसका कारण उनीहरूले वातानुकुलित टेन्ट तथा त्यस्तै प्रकारका बसहरूजस्ता सेवासुविधा पाएनन् । कैयौं देशले यसरी जथाभावी तीर्थयात्री पठाउने आफ्ना ट्राभल एजेन्सीहरूलाई कारबाही शुरु गरेका छन् । साउदीमा चलिरहेको तातो हावाका कारण मानिसहरूको मृत्यु भइरहेको छ ।

हज यात्रामा अधिकांश उमेर ढल्किएकाहरू जान्छन् । यस्तो यात्राका क्रममा मृत्यु खासै नयाँ होइन तर यसपालि बढिरहेको अस्वाभाविक मृत्युको संख्याले सारा विश्वको ध्यान तानेको हो । नत्र यस्तो क्रम त १४०० वर्षदेखि चल्दै आएको छ । 

समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार एक हजार वर्षदेखि हज यात्रा गर्मीको याममा भइरहेको छ । त्यसमाथि ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रभावले गर्मी आफैमा बिथोलिएको छ । जलवायु विज्ञ कार्ल फ्रेडरिक स्लुसनरका अनुसार सन १८५०–१९००को तुलनामा अहिले वैश्विक तापमान १.५ डिग्री सेल्सियसभन्दा बढिरहेको छ । यस्तो अवस्थामा मानिसले ‘हिट स्ट्रोक’को खतरा पाँच गुणा बढी सामना गर्नुपर्ने हुन्छ । 

सरकारका अनुसार हजयात्रीका लागि १८९ अस्पताल खडा गरिएका छन् । त्यस्तै सयौं मोबाइल क्लिनिकसहित ४० हजारभन्दा धेरै स्वास्थ्यकर्मी र स्वयंसेवक पनि खटिएका छन् । 

इस्लाम समुदायमा एउटा मान्यता छ– एकपटक हजयात्रा नगए पूरै जीवन व्यर्थ हुने । त्यसका लागि उनीहरूले जीवनभरिको कमाइको केही हिस्सा छुट्याएर राखेका हुन्छन् । पवित्र शहरमा मर्नु वा त्यहाँ अन्त्येष्टिको अवसरलाई उनीहरूले ‘अल्लाह’कै आशीर्वाद ठान्छन् । 

यात्राका क्रममा अत्यधिक गर्मी, अरु बिरामी वा सडक दुर्घटना अनि भीडमा च्यापिएर वा हुलदंगाका कारण पनि मृत्यु हुनसक्छ । त्यसको सबै जिम्मेवारी साउदी अरब सरकारकै हुन्छ । शवहरूको पहिचानदेखि उनीहरूलाई सम्बन्धित देशको जिम्मा लगाउने र परिवारको ठेगानासम्म पुर्‍याउने जिम्मेवारी उसकै हो तर त्यसका लागि सम्बन्धित देशको आधिकारिक ‘हजयात्री’ भएको प्रमाण चाहिन्छ । पहिचान नै हुन नसकेका शवहरूलाई स्थानीय प्रचलनअनुसार त्यहीँ अन्त्येष्टि गरिन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू