पहाडका सिडियोमाथि यतिसम्म पेलान
०५७ वैशाखमा प्रथम महोत्सव आयोजना गरी तत्कालीन गाविस अध्यक्ष प्रेम घलेकै अगुवाइमा १२ घरबाट घरबास (होमस्टे) शुरु गर्दै ०६४ सालमा दक्षिण एशियाकै नमुना गाउँ (सार्क भिलेज) बन्न सफल घलेगाउँलाई, ०७६ मंसिर १७ मा स्मार्ट भिलेज घोषणा गरिएको हो । ०७९ वैशाखमा एमाले अध्यक्ष केपी शर्माले सुखी गाउँ भनेको पनि यही ठाउँलाई हो । ०७३ माघमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ संग्रहालय उद्घाटन गर्दै घलेगाउँको निकै प्रशंसा गर्नुभएको थियो । गाउँबारे सहायक सिडिओ गोकर्णराज सुयलले प्रेम घलेलाई साक्षी राखेर जेठ २४ गते लमजुङ दर्पण पत्रिकाको ११ औ वार्षिकीका दिन अप्रिय शब्द बोलेपछि घले सिडिओ बुद्धबहादुर गुरुङसँग निकै बम्किएका छन् ।
यही विषयलाई लिएर जनआस्थामा समाचार आउनु एक दिनअघि उनले सिडिओलाई फोन गरेका थिए । तपाईंको सहायकले सार्वजनिक कार्यक्रममा घलेगाउँबारे अफवाह फैलाए । यदि, कुनै कुरामा चित्त बुझेको थिएन भने मलाई भेटेरै भनेको भए हुने भन्दै गर्दा ‘को सहायक, मेरो कुन सहायक छन्’ र भन्ने जवाफ आयो र आच्या भन्दै प्रेम घलेले फोन काटे । सिडिओलाई भनेर गरेको फोन त डिएसपीलाई पो थिचिएको रहेछ ।
लगत्तै सिडिओलाई फोन गरे । बिहानको समय लामो संवाद हुन नपाए पनि घलेले त्यही कुरा राखे । १० बजे आसपास सिडिओले कल ब्याक गरे । प्रेम घलेले नमस्ते भन्न पाउँदा नपाउँदै सिडिओ बुद्धबहादुर गुरुङले को बोल्नुभो ? भनेर लवज फेरे । घलेले सिडिओ गुरुङलाई मात्रै नभएर दुईपटक कार्यालयमै शिष्टाचार भेटसमेत गरेका थिए । आफू गाउँपालिका प्रमुख हुँदाका बखत प्रमुख प्रशासकीय अधिकृत रहेका राकेश गुरुङले बुद्धबहादुर सिडिओ भएर आएका छन्, सहयोग गर्नुहोला हाम्रो समुदायका हुन् भनेपछि घले जिल्ला प्रशासन कार्यालय पुगेर भेटघाट चिनापर्ची गरेका थिए ।
गुरुङले नचिनेझैँ गरी कार्यालयमा आउनु भनेपछि खरो मिजासका घले पड्किए । म किन तपाईंको अफिस आउने ? मेरो तारिख छ ? कि मुद्दा छ त्यहाँ ? भनेर जंगिएपछि फोन संवाद रोकिएको खबर प्राप्त भएको छ ।
गत हप्ता सहायक सिडिओ सुयलबारे आएको समाचारलाई लिएर रेडियोकर्मी सन्देश पौडेलले टिप्पणी गरेका छन् । सिडिओ रामकृष्ण अधिकारीका पालामा बसाइँसराइसम्बन्धी समस्या सहजीकरणका लागि पत्रकार साथीले अनुरोध गरेको, त्यो बेला सन्देश मनाङमा भएकाले सिडिओ अधिकारीलाई फोनमार्फत् समस्या राख्दा स्थानीयमा बसेर आएका सहायक सिडिओलाई बढी ज्ञान हुने भन्दै यही कुरा राख्दा सहायक निकै झोक्किएको र ती व्यक्तिलाई थुन्नेसम्म धम्की दिएको उनी सम्झन्छन् ।
सरकारी कार्यालयका निम्ति बिदाको दिन गाडीको पास लिन जाँदा अनेक वचन लाउने गरेको गुनासो उस्तै सुनिन्छ । त्यत्ति मात्र हैन बजार अनुगमनका नाममा सामान्य नाङ्ले पसलेलाई समेत जरिवाना ठोकेर हैरानी खेलाइएको छ । उता, डिपिआरसहित झण्डै सात करोड लागतमा राइनास–६ स्याउलीमा निर्माण गर्न लागिएको चिस्यान केन्द्र अलपत्र छ । सुयल राइनास नगरपालिकाको प्रमुख प्रशासकीय भएका बेला संघीय सरकारको बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको सो केन्द्रको ईआई नगरी, जग्गाको नाप नक्सा टुंगो नै नलगाई काम थाल्दा अहिले लथालिंग परेको छ ।
१० रोपनी जग्गामा चिस्यान केन्द्र निर्माण गर्न लागे पनि डिभिजन वन कार्यालयले सो जग्गा सामुदायिक वनको भएको, नगरपालिकाले कोही कसैसँग अनुमति नलिएको भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । डिभिजन वन कार्यालय लमजुङले शंकर पुरी र गोविन्द पौडेललाई अनुसन्धान गर्ने जिम्मा दिएको छ भने तत्कालीन सिडिओ रामकृष्ण अधिकारीले केही समय रोक्नु भनेकाले अनुसन्धान प्रभावित बन्दै गएको र हाल सो प्रकरणका एकपात्र सुयल नै जिल्ला प्रशासनमा आइपुगेकाले अनुसन्धानमा ढिलासुस्ती भएको एक अनुसन्धानकर्ता स्वीकार्छन् ।
राइनास नपा–६ का वडाध्यक्षले चाहिँ जग्गाको केही भाग गौचरन र केही भाग सुक्खा टाप्रेघारी, यसलाई सुकुम्बासीले हडप्न सक्छन् भनेर वनले बिरुवा रोपेको बताएका छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू