विद्या बेइजिङ नगएपछि...

विद्या बेइजिङ नगएपछि...
सुन्नुहोस्

सत्ता समीकरणमा आएको फेरबदलसँग सम्बन्ध राख्ने श्रृंखलावद्ध गतिविधिभित्रको एउटा हो, पूर्वराष्ट्रपति विद्या भण्डारीको अन्तर्वार्ता । असार १४ गते बेइजिङ पुगिसक्ने निर्धारित कार्यक्रम छाडेर उहाँ यस्तै बस्नु र १७ गतेको साइतमा देउवा–ओलीबीच लिखित सम्झौता हुनु के संयोगमात्रै होला  !

जसरी एमाले अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच मतभेद छ भनिन्थ्यो, त्यसविपरित अन्तर्वार्ता आउँछ र त्यसको एक सातामै ओली प्रधानमन्त्री बनाइनका निम्ति कांग्रेसबाट प्रस्तावित हुनुहुन्छ । उहाँले कान्तिपुरको अन्तर्वार्तामा वाम एकता, प्रचण्ड–माधवको आलोचना, दुई ठूला दल कांग्रेस एमालेबीच सीधा प्रतिस्पर्धा, संसद विघटनको पक्षमा बलियो पैरवी गरेपछि राजनीतिले अर्को मोड लिएको छ । यसर्थ, उक्त अन्तर्वार्तालाई एमालेकै कतिपय नेता ‘योजनावद्ध’ भन्छन् ।

एमालेभित्र अध्यक्ष केपीसहित महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, राजन भट्टराईबाहेक अरु कोही नेता छैनन्, जो माधव नेपालहरूलाई एकतामा ल्याउनुपर्छ भन्ने कुराप्रति असहमति राख्छन् । त्यसमा पनि उपाध्यक्ष विष्णु पौडेलहरू त एमालेको गिर्दो जनमत जोगाउनका निम्ति पनि एकताको उपाय खोजेरै हिँडेका छन् । तर, विद्याको अन्तर्वार्तामा ओलीको बोलिमात्रै छैन, कांग्रेस रिझाउनका निम्ति भन्नुपर्ने सबै कुरा आएको बताइन्छ ।

हिजो पनि विद्याले पार्टी एक बनाउने भूमिका खेलेकाले अहिले पनि केही गर्न सक्नुहुन्छ कि भन्ने कतिपय नेताको आशा थियो । तर, उहाँले अहिले नै माओवादीलाई वार कि पार गर्नुपर्‍यो भनेपछि ओली पनि एकताका पक्षमा नहुनु भएको स्पष्ट भएको छ । बाहिरबाट देखिँदा ओली–विद्याको सम्बन्धमा अलि फरक छ किजस्तो देखिएपनि भित्री कुरा सबै मिलेको छर्लङ्ग भएको छ । केपीले बजेटको आलोचना गर भनेर आफ्ना सांसदलाई सरकारविरुद्ध प्रोत्साहित गर्दै आउनुभएको थियो । यही बेला विद्याले एमालेको उपाध्यक्ष भएको बेलाजस्तै कडा वाणी बोल्नुभएको छ । एमाले–कांग्रेसबाहेक अरुको अस्तित्व छैन भनेर उहाँले बोलेको कुरा फागुन २१ मा केपी माधव नेपालको घरमा पुग्नुअघिको लाइनसँग ठ्याक्कै मेल खान्छ । 

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले त भनेकै थिए, ‘ओलीले प्रचण्डलाई स्लाइन पानी चढाएर राखेका छन् ।’ अर्थात्, प्रचण्डलाई धम्काउने, दबाबमा राखिराख्ने, उस्तै परे कोमामा पुर्‍याइदिनेसम्मको तहमा ओली हुनुहुन्छ भन्ने नारायणकाजीको टिप्पणी पनि सत्य सावित भएको छ । त्यस्तो अवस्थामा विद्याको अन्तरवार्ता पनि प्रचण्डलाई तर्साउने खेल भएको बुझ्न गाह्रो छैन । जबकि, विद्याले यसअघि सबै मिलेर अगाडि बढे राम्रो हुन्छ भन्ने गर्नुहुन्थ्यो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू