मन्त्री खान विनोद चौधरीको निरन्तर दिल्ली दौड

मन्त्री खान विनोद चौधरीको निरन्तर दिल्ली दौड
सुन्नुहोस्

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी नयाँ दिल्लीबाट फर्केका छन् । उनी एअर इण्डियाको उडान नम्बर एआई २११ मा हिजो राति पौने ९ बजे काठमाडौं आइपुगेका हुन् ।

गत सोमबार राति यता नयाँ राजनीतिक समीकरणको अन्तिम तयारी हुनु केही घण्टाअघि उनी नयाँ दिल्लीतर्फ उडेका थिए । त्यो दिन चौधरी भिस्तारा एअरको उडान नम्बर युके १५६ मा साँझ साढे ५ बजे यताबाट उडेका हुन् ।  

त्यसअघि उनी नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिएर भोलिपल्ट दुबई गएका थिए । जेठ ३२ गते मध्यरात फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा दुबईबाट काठमाडौं आए । 

हुनतः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत फागुनमा नेपाली काँग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग सम्बन्ध राखेपछि चौधरीको नयाँ दिल्ली जाउआउ बाक्लिएको थियो । उनीसँगै काँग्रेस नेता तथा राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापा पनि नियमितझैँ उता जाँदै फर्कंदै गरेका थिए ।

त्यसैले काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक र एमालेका शंकर पोखरेलहरुको टोलीबीच भएको महिनौंको गोप्य भेटवार्ता अधिकांश ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा भएको थियो । चौधरीको उक्त होटलमा भएका धेरैजसो भेटघाट र छलफलको सहजीकरण स्वयम् विनोदले गरेको स्रोतको दाबी छ । 

भिभान्ताको छलफलपछि मात्र सहमतिलाई अन्तिम रुप दिन सोमबार दिउँसो माइतीघरस्थित प्रथम गभर्नर हिमालय समशेर राणाको घर रोजिएको थियो । त्यहाँ राणाका छोरीज्वाईं तथा काँग्रेस नेता सुनिल थापाले सहजीकरण गरेका थिए । त्यसपछि मध्यराति हात्तिगौंडास्थित क्याप्टेन रामेश्वर थापाको घरमा सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच लिखित सहमति गरिएको हो ।

तर विगतमा एमाले छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेदेखि चौधरीलाई बालकोटले कहिल्यै राम्रो नजरले हेरेको थिएन । उनै चौधरी असार ७ गते राति एकाएक अध्यक्ष केपी शर्मा ओलीको निवासमा उहाँसँगै पलेटी कसेर संगीत श्रवण गरेको अवस्थामा देखिए । 

जुन २१ तारिख अर्थात् विश्व संगीत दिवसको अवसरमा आयोजित लाइभ म्युजिक कार्यक्रममा अध्यक्ष ओली, उहाँको परिवारका सदस्य, केही नेता तथा संगीतकर्मीहरुमाझ चौधरीको उपस्थिति आफैंमा उदेकलाग्दो थियो । काँग्रेस र एमालेबीच सत्ता समीकरणको सहमतिनिम्ति अन्तिम कसरत भइरहँदा त्यसअघिका सबै प्रक्रियामा सहभागी उनी केही घण्टाअघि नयाँ दिल्लीतिर हान्निएका थिए ।


 

टिप्पणीहरू