देशभर बाढीको जोखिम, कोशी ब्यारेजका सबै ढोका खोलियो

देशभर बाढीको जोखिम, कोशी ब्यारेजका सबै ढोका खोलियो

सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ४६ वटा ढोका खोलिएको छ । 

केहीबेर अघिको मापनमा ब्यारेजमा ३ लाख ४२ हजार क्युसेक पानी मापन गरिएको र ४६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ । 

पानी परिरहेकाले नदीको बहाव अझै बढ्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ ।

केही दिन यता देशचर भारी वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित देशभर अत्याधिक वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

बाढी पूर्वानुमान महाशाखाले देशभरका अधिकांश नदीहरुमा बहाव बढ्न सक्ने जनाउँदै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र आसपासका जिल्ला भई बग्ने अधिकांश नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको बताएको छ । 

त्यस्तै, आज र भोलि नारायणी र महाकाली नदीमा जलसतह बढ्न सक्ने महाशाखाले जनाएको छ । कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती र यसका सहायक नदीहरुमा पनि जलसतह बढ्न सक्ने भएकाले उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ । 

झापा, मोरङ, सुनसरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, बारा, कास्की, अर्घाखाँची, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, सल्यान, रोल्पा, प्युठान, म्याग्दी, बाग्लुङ, पर्सा, चितवन, नवलपरासी पूर्व र पश्चिम, कपिलवस्तु, रुपन्देही, सुर्खेत, अछाम, दैलेख, बाजुरा, जाजरकोट, बैतडी, बझाङ र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ ।

महाशाखाले भोलि पनि देशभरका अधिकांश स–साना नदीहरुमा बहाव बढ्ने तथा कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश प्रदेश र आसपास भई बहने नदीमा आकस्मिक बाढीको जोखिम रहेको समेत जानकारी दिएको छ ।

 

टिप्पणीहरू