चितवनमा बाढीको बितण्ड- झोलुङ्गे पुल बगायो, सयौँ विस्थापित

चितवनमा बाढीको बितण्ड- झोलुङ्गे पुल बगायो, सयौँ विस्थापित

नारायणी नदीमा आएको बाढीले चितवनको भरतपुर–३ स्थित झोलुङ्गे पुल बगाएको छ । नारायणगढ–नगरवन जोड्ने पुल गएरातिको बाढीले बगाएको हो । 

हिजो राति साढे ११ बजे आएको बाढीले भरतपुर महानगरपालिका–३, न्युरोड र नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । बाढीले पुलको दुवैतर्फको पिल्लर भत्काएको छ । 

यस्तै, बाढी बस्तीमा पसेपछि एक सय ७१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सिडियो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३ का ३०, वडा नम्बर १७ का ५४, वडा नम्बर १ का २८ र वडा नम्बर १६ का ५९ गरी एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । 

घरभित्र बाढी पसेका भरतपुर–१७, गोब्रेनीस्थित १७ घरधुरीका मानिसलाई सोही स्थानमा रहेको आफन्तको घरमा डुंगामार्फत सुरक्षित साथ लगिएको सिडियो कार्यालयले जनाएको छ । 

सिडियो कार्यालयले नारायणी नदीको जलसतह ११.६९ मिटर रहेको भन्दै उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ । यहाँ ९ मिटरलाई खतराको संकेतको रुपमा लिने गरिएको छ ।
 

टिप्पणीहरू