पहिरोमा पुरिएर सात जनाको निधन

पहिरोमा पुरिएर सात जनाको निधन

पछिल्लो २४ घण्टाको अवधिमा पहिरोमा पुरिएर देशका विभिन्न स्थानमा सात जनाको ज्यान गएको छ । पर्वत र तनहुँमा दुई-दुई जना तथा स्याङ्जामा तीन जनाको मृत्यु भएको हो । 

पर्वतको फलेवास नगरपालिका–१, कार्किनेटा बस्ने कुलप्रसाद पाध्याको घर हिजो दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३, पाखरीगोर ढुंगाका ३२ वर्षीय तुलसीप्रसाद शर्माको निधन भएको छ । 

यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–७, काउरे बस्ने ४० वर्षीया हिरा नेपाली र ६५ वर्षीय श्याम भण्डारीको पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

पहिरो आउँदै गर्दा घरभित्र रहेको सामान निकाल्ने क्रममा हिरासहित तीन जना बेपत्ता भएका थिए । खोजतालसको क्रममा हिरा र श्यामको शव फेला परेको र बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 

यता, स्याङ्जाको बिरुवा गाउँपालिका–६, लामाखेत बस्ने ईश्वरी लम्सालको खाली घर हिजो बिहान पहिरोले पुरिँदा तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–६, स्याङदी माझकोट बस्ने ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधव शर्मा र उनकी श्रीमती ६७ वर्षीया हरिमाया शर्मा रहेकी छन् । 

पहिरो गएको स्थानमा तत्काल प्रहरी टोली खटिएर आवश्यक उद्दार कार्य गर्नुका साथै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

 

टिप्पणीहरू