बागमतीका मुख्यमन्त्रीले सरक्क पद नछोड्ने

बागमतीका मुख्यमन्त्रीले सरक्क पद नछोड्ने

संघमा कांग्रेस र एमाले मिलेर सरकार चलाउने सहमति गरेसँगै त्यसको असर प्रदेशमा पनि पर्न थालेको छ । 

कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने भएपछि सोहीअनुसारको समीकरण बनाउन एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । एमालेका मन्त्रीहरूले आज राजीनामा बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका हुन् ।

सरकार अल्पमतमा पर्ने भएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सदनको सामना गर्ने तयारी गर्नुभएको छ । आज बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने निर्णय गरेको हो । एमाले मन्त्रीहरुले राजीनामा दिएपछि विश्वासको मत लिने मिति तय गर्ने माओवादीको निर्णय छ । 

एमालेले अस्ति शुक्रबार नै समर्थन फिर्ता लिने तयारी गरेको थियो । तर, उक्त दिन मुख्यमन्त्री जम्कट्टेल काठमाडौँमा रहेका कारण उसले मन्त्रीहरुको राजीनामा पत्र र समर्थन फिर्ताको पत्र बुझाउन पाएको थिएन । 

यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि असार २८ गते संघीय संसदमा विश्वासको मत लिन लाग्नुभएको छ ।

टिप्पणीहरू