प्रतिपक्षी बेञ्चमा पुगेको एमाले र माओवादी सांसदबीच सदनमा जुहारी

प्रतिपक्षी बेञ्चमा पुगेको एमाले र माओवादी सांसदबीच सदनमा जुहारी

काँग्रेसको समर्थनमा सरकारको नेतृत्व लिन लागेको नेकपा एमाले प्रतिनिधि सभामा प्रतिपक्षीको बेन्चमा बसेको छ । 

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसदहरु कांग्रेससँगै प्रतिपक्षी बेन्चमा बसेका हुन् । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डको राजीनामाको विषयलाई लिएर एमाले र माओवादी सांसदबीच संसदमा जुहारीसमेत चलेको छ । 

एमाले सांसद रघुजी पन्तले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । नयाँ बन्ने सरकार धारा ७६ (२) अनुसार बन्ने कि ७६ (३) अनुसार भन्ने चिन्ता राष्ट्रपतिको भएको पन्तको तर्क छ । 

‘अहिलेको नैतिकता भनेको प्रधानमन्त्रीले राजीनामा दिनुहोस्’, उनले भने, ‘अल्पमतमा परिसकेपछि पनि २ मा जान्छ कि ३ मा जान्छ, यो राष्ट्रपतिज्यूको चिन्ताको विषय हो ।’ 

माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल राजनले भने कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने स्पस्ट पारे । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार नै प्रधानमन्त्री अघि बढेकाे उनको भनाई छ ।

‘प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नुहुन्छ’, सांसद दाहालले भने, ‘कसैले चाहँदैमा राजीनामा आउँदैन, तपाईंहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन ।’

उनले अनैतिक र भ्रष्टहरुले आफूहरुलाई नैतिकताको पाठ सिकाइराख्नु नपर्ने पनि बताएका छन् । ‘अनि कोही अनैतिक र भ्रष्टहरूले नैतिकताको पाठ पनि सिकाइराख्नु पर्दैन’, उनले आक्रोशित हुँदै भने ।
 

टिप्पणीहरू