योगेशलाई माधवको जवाफ- गिरिबन्धुको कालो धब्बाले धपक्कै छोपिएर नैतिकता नसिकाउनु

सुन्नुहोस्

मिलेर सरकार चलाउने नेपाली कांग्रेस र एमालेको सहमतिलाई सत्तारुढ नेकपा माओवादी केन्द्रले षड्यन्त्रको संज्ञा दिएको छ । असार १७ गते मध्यराति दुई दलका सीमित नेता बसेर गरेको भनिएको उक्त सहमति औपचारिक रुपमा सार्वजनिक नभएको भन्दै माओवादीले षड्यन्त्रको आशंका गरेको छ । 

सो पार्टीका सांसद माधव सापकोटाले नयाँ सत्ता समीकरणको सम्बन्धमा काँग्रेस र एमालेले गरेको सहमति अपारदर्शी रहेको बताए । आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसदीय अभ्यासमा ठूलो दलले सरकार बनाउने र दोस्रो ठूलो दल प्रतिपक्षमा बस्ने परम्परा मिचेर अँध्यारो कोठामा भएको सहमतिको माओवादीले सामना गरेर जाने पनि स्पष्ट पारे । 

सांसद सापकोटाले अहिलेसम्म उक्त सहमति सार्वजनिक नगरिनुले गम्भीर आशंका पैदा भएको बताएका छन् । दुई दल मिल्दैमा संविधान संशोधन हुन नसक्ने बताउँदै उनले संसद्को संख्या र मुद्दा दुबै हिसाबले त्यो सम्भव नरहेको स्पस्ट पारे । संविधान संशोधन गर्ने  भनेर मिडिया ट्रायल गरिएको उनको बुझाई छ । 

दुई दल मिल्दैमा संविधान संशोधन हुन नसक्ने बताउँदै उनले संसद्को संख्या र मुद्दा दुबै हिसाबले त्यो सम्भव नरहेको स्पस्ट पारे । संविधान संशोधन गर्ने भनेर मिडिया ट्रायल गरिएको उनको बुझाई छ ।

‘हामीले अभ्यास गरिराखेको संसदको अभ्यासले सबभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो दलले वेटिङ गभर्न्मेन्ट अथवा वाचडगका रुपमा प्रमुख प्रतिपक्षमा बसेर भूमिका खेल्ने भन्छ । तर संसदले यो लय त सुरुका दिनदेखि नै बिगारेको हो । त्यसकारण अहिले उहाँहरुले जे भन्नुभएको छ, यसका पछाडि स्थिरता दिने कुराको कुनैपनि गुञ्जायस देखिँदैन', सापकोटाले भने, 'उहाँहरुले यति अपारदर्शी प्रकारको सहमति गर्नुभएको भन्ने हाम्रो निष्कर्ष छ । दुईवटा दलका बिचमा के–कस्ता सम्झौताहरु भए त्यो आधिकारिक रुपमा बाहिर आएका छैन । मिडिया ट्रायलका निमित्त उहाँहरुले विभिन्न प्रकारका क्लिपहरु र अरु मेन्सनहरु गर्नुभएको छ ।'

एमाले सचिव तथा सांसद योगेश भट्टराईले दुई ठूला दल मिलिसकेपछि पनि राजीनामा दिएर नैतिकता देखाउन नसकेको भनी प्रधानमन्त्रीमाथि उठाएको प्रश्नको जवाफ पनि सापकोटाले सदनबाटै दिए । 'दिनभरी प्रधानमन्त्रीसँग बसेर नर्क गएपनि, स्वर्ग गएपनि सँगै जाउँला भन्ने, ललितपुरमा ड्राफ्ट गर्नका लागि आफ्ना नेतालाई खटाउने यो कहाँको नैतिकता हो ? यही हो नैतिकता ?', योगेशको नाम नलिई उनले प्रतिप्रश्न गरे । 

सांसद सापकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ पर्नासाथ सरकार परिवर्तनको खेल शुरु भएको जिकिर दोहोर्याएका छन् । गिरीबन्धु टि-स्टेटको कालो धब्बाले छोपिएर आफूहरुलाई नैतिकताको पाठ नसिकाउन उनले एमाले सांसद योगेश भट्टराईलाई चेतावनी दिए ।

'तपाईहरु अहिले हामीलाई नैतिकताको पाठ सिकाएर गिरीबन्धुको कालो धब्बाले धपक्कै छोपिएर, बेचन झाले बेचैन बनेकाहरुले हामीलाई नैतिकताको पाठ सिकाउने', सापकोटाको आक्रोश छ, 'तपाईहरु पहिले गिरीबन्धु टि-स्टेटको कालो धब्बा कसरी पखाल्ने ? बेचन झाबाट बेचैन भएको चैन पहिले फर्काउनुस् न । त्यसपछि हामी कुरा गरौँला ।’

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसके संविधानअनुसार धारा ७६(३) बमोजिम प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढ्नेसमेत उनले दाबी गरेका छन् ।

टिप्पणीहरू