प्रधानमन्त्रीलाई कटाक्ष गर्दै संसदमा गीत घनन

सुन्नुहोस्

नेपाली कांग्रेसका सांसद तथा विवादास्पद मेडिकल व्यवसायी सुनिल शर्माले संसदमा गीत गाएका छन् । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डलाई कटाक्ष गर्दै उनले गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो......’ बोलको गीत गाएका हुन् । 

शर्माले गीत सुनाइरहँदा संसद बैठकमा हाँसोको माहोल बनेको थियो । आफ्नो गीतप्रति कसैले नियमापत्ति गरे संसदको रेकर्डबाट डिलिट गर्दा पनि फरक नपर्ने बताउँदै उनले भने, ‘यो मैले २८ गते सदनबाट बिदा लिँदै गर्नुभएका प्रधानमन्त्री प्रचण्डप्रति समर्पित गरेको हुँ,यसमा कसैको नियमापत्ति रह्यो भने डिलिट गरिदिए पनि इगो छैन ।'  

त्यसक्रममा शर्माले प्रधानमन्त्री प्रचण्डको प्रधानमन्त्रीकालमा भएका दुइवटा राम्रा कामको चर्चा पनि गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज संचालन गर्ने र करसम्बन्धी कानुनको दफा ५७ लाई परिमार्जन गर्ने वर्तमान सरकारको निर्णय प्रशंसनीय रहेको उनको बताए ।

निर्णयको प्रति संसदमा देखाउंदै शर्माले भने, 'सभामुख महोदय ! यो सरकारका पालामा अरु कति राम्रा काम भए मलाई थाहा छैन तर मैले इमान्दारितापूर्वक भन्नुपर्छ प्रचण्डजीको पालामा दुइवटा राम्रा काम भएका छन् । यसका निम्ति प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिनुपर्छ !'

टिप्पणीहरू