एसईई पूरक परीक्षाको तयारी कक्षाको थालनी
काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुतीर्ण सामुदायिक विद्यालयका विद्यार्थीका लागि पूरक परीक्षाको तयारी कक्षा शुरु गरेको छ ।
महानगरले आजदेखि पूरक परीक्षाको तयारी कक्षा सञ्चालन गरेको हो । २०८० सालको एसईई परीक्षामा नियमिततर्फ सहभागी भएर ग्रेडवृद्धि हुन नसकेका आठ सय ७३ जना विद्यार्थीका लागि कक्षा शुरु गरिएको जनाइएको छ ।
कक्षा सञ्चालनका लागि महानगरको सहरी आयोग र शिक्षा विभागले सम्बन्धित विद्यालयका प्रधानाध्यापक र शिक्षकसँग अस्ति छुट्टाछुट्टै बैठक समेत गरेको थियो ।
महानगरभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट गत वर्षको एसईई परीक्षामा तीन हजार नौ सय ५९ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये तीन हजार ८६ जनाले ग्रेडवृद्धि प्राप्त गरे । बाँकी आठ सय ७३ जना विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुँदैछन् ।
उनीहरुलाई विभिन्न वडामा रहेका विद्यालयलाई स्रोत केन्द्र तोकेर क्याम्पमा राखेर कक्षा थालिएको महानगरले जानकारी दिइएको छ । विद्यार्थीका लागि स्वच्छ खानाको प्रबन्ध गरिनुका साथै एक सय शिक्षकको रोष्टर बनाइएको छ ।
कक्षामा व्यक्तिगत परामर्श, पियर लर्निङ (दुई जनाका बीचमा हुने अन्तरक्रियात्मक सिकाई) र समूहगत सिकाईजस्ता विधि अवलम्बन गरिने महानगरको भनाइ छ । ११ वटा स्रोत केन्द्रमा दैनिक औसत ७० वटा कक्षा सञ्चालन हुनेछ । विद्यार्थीको अनुकूलता र विषय हरेर कक्षा संख्या बढ्न सक्ने समेत महानगरले जनाएको छ ।
टिप्पणीहरू