गाउँपालिका अध्यक्षको जग्गामा नक्कली पशुपालन, नातेदारहरु सञ्चालक

गाउँपालिका अध्यक्षको जग्गामा नक्कली पशुपालन, नातेदारहरु सञ्चालक

हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकायासहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको जनाइएको छ ।

पूर्वअध्यक्ष रोकायासहित तत्कालीन उपाध्यक्ष जोसी धामी, प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही, इन्जिनियर रामराज शाही, सबओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य, उपभोक्ता समितिका अध्यक्ष हंश रोकाया, कोषाध्यक्ष सेतु रोकाया र सचिव तुलराज रोकायाविरुद्ध मुद्दा दायर गरिएको हो । 

तत्कालीन अध्यक्ष रोकायाले नातेदारहरुलाई थारी कोइलिङ पशुपालन उपभोक्ता समितिको अध्यक्ष बनाएर एउटै आर्थिक वर्षमा दुई पटक रकम विनियोजन गरी भुक्तानी दिएको पाइएको थियो । त्यसरी दिइएको रकमबाट कुनै कामसमेत नभएको अख्तियारको अनुसन्धानबाट खुलेको हो ।

उनले आफ्नै निजी जग्गामा रहेको थारी कोइलिङ कृषि तथा पशुपालन फर्मको घेराबार निर्माणका लागि आर्थिक वर्ष २०७६÷०७७ र ०७७÷०७८ गरी दुई पटक बजेट विनियोजन गरेका थिए । 

दाजु हंशलाई अध्यक्ष, श्रीमती सेतुलाई कोषाध्यक्ष र नातेदार तुलराजलाई सचिव बनाएर उपभोक्ता समिति गठन गरी योजना सञ्चालन गरेको झुट्टा नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार पारेर भुक्तानी गरिएको पाइएको हो ।

अख्तियारले दायर गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम साढे १९ लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको छ ।

टिप्पणीहरू