सुधार केन्द्र छाडेर अस्पताल पुगेका दुर्व्यसनीहरु पुनर्जीवनतर्फ
-गणेश लम्साल
पछिल्लो समय मुलुकमा लागुऔषध सेवनकर्ताको संख्या बढ्दो क्रममा छ । सबै उमेरसमूह लागुऔषधको कुलतमा फसेको पाइएको छ । यस्तो कुलतबाट बाहिर आउन चाहेपनि सकिरहेका छैनन् ।
अधिकांशलाई उपचारपछि नशामुक्त भएर पुनर्जीवन पाउन सकिनेबारे कुनै जानकारी छैन । यसकारण लागुऔषध सेवनकर्ताहरु शारीरिक तथा मानसिक रोगी बन्दै गएका हुन् ।
नशामुक्त हुन धेरैजसोलाई सुधार केन्द्र पुर्याइन्छ । तर, हिजोआज नयाँ उपचार पद्धति चर्चामा आएको छ । रक्सी, गाँजा, ब्राउनसुगर र मेडिकल ड्रग्स (ट्याब्लेट, सुई, सिरप) प्रयोग गरेर शारीरिक र मानसिक रुपमा अशक्त बिरामीहरुलाई विशेषज्ञ चिकित्सकहरुले अस्पतालमा प्रत्यक्ष निगरानीमा राखेर सफल उपचार गरिरहेका छन् ।
सुधार केन्द्र छाडेर अस्पताल धाउने बढे
हिजोआज सुविधासम्पन्न अस्पतालमा दक्ष मनोचिकित्सकबाट नशामुक्त बनाउने सफल उपचार लोकप्रिय हुन थालेको छ । सोही कारण लागुऔषध सेवनकर्ताहरु सुधार केन्द्रको सट्टा अस्पताल धाउने क्रम बढेको छ । पहिले अस्पतालमा एकाध लागुऔषध सेवनकर्ताहरु मात्र उपचारका लागि पुग्थे ।
ठूला अस्पतालहरुले त्यस्तालाई लक्षित गरी मानसिक विभाग स्थापना गरेका छन् । मनोचिकित्सकहरुले स्वदेशमै भरपर्दो उपचार गराउन थालेपछि अस्पतालहरुमा बिरामीको चाप बढेको बताइन्छ । मोरङको बुढीगंगा गाउँपालिका २ स्थित विराट शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक २० जनाभन्दा बढी लागुऔषध सेवनकर्ताको उपचार हुने गरेको छ ।
यसरी गरिन्छ उपचार
सिकिस्त लागुऔषध दुर्व्यसनीका लागि अस्पतालमा विशेषज्ञ मनोचिकित्सकहरुको टिम नै खडा गरिएको छ । उनीहरुले पहिले बिरामीको अवस्था बुझ्छन् । ‘बेसिकलाइन चेक’ अन्तर्गत पहिले बिरामीको सुगर, प्रेसर, मृगौला, कलेजो, पिसाब, मुटु, रगत आदिको चेकजाँच गरिन्छ । त्यसपछि रिपोर्टको आधारमा उपचार अघि बढाइन्छ ।
कसैलाई विभागअन्तर्गत सघन, कसैलाई सामान्य कक्षमा राखिन्छ । उनीहरुलाई २४ सै घण्टा चिकित्सकको निगरानीमा राख्ने गरिएको अस्पताल प्रशासनले जनाएको छ । उपचारका क्रममा बिरामीहरुलाई फिजिकलसँगै कुलतमुक्त गराउने औषधि दिने गरिएको छ । चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा उपचार गरेका बिरामी छ महिनादेखि एक वर्षसम्म नियमित औषधि सेवनपछि कुलतमुक्त हुन्छन् ।
उपचार गराउने क्रम बढ्यो : अस्पताल
अस्पतालको मानसिक विभाग प्रमुख मनोचिकित्सक प्रोफेसर डाक्टर नवराज कोइराला अस्पतालमा उपचार गराउन आउनेको संख्या बढेको बताउँछन् । दक्ष विशेषज्ञ नियुक्त गरेर उपचार गराउन थालेपछि सुधार केन्द्र जाने क्रममा कमी आएको उनको भनाई छ । त्यस्तै, घरमा रोग पालेर बस्नेहरुको संख्या पनि निकै कम भएको छ ।
उपचारमा प्रचारप्रसारको कमी
चिकित्सक कोइरालाका अनुसार धेरै बिरामीलाई सस्तो खर्चमा भरपर्दो तरिकाले नशामुक्त गराउने उपचाबारे जानकारी छैन । उचित जानकारीको अभावमा बिरामीहरु उपचारबाट वञ्चित भएका हुन् । अस्पतालमा कुलतमुक्त भई पुनर्जीवन पाउन सकिने जानकारी फैलाउन सकेमा धेरै कुलतबाट बाहिर आउने कोइरालाको दाबी छ ।
उनले भने, ‘कुलतमा परेर शारीरिक र मानसिक बिरामी भएकाहरुको अस्पतालमा भरपर्दो र सस्तो उपचार हुन्छ भन्ने प्रचारप्रसार हुन सकेको छैन । त्यसैले अझै धेरै बिरामीको पहुँच अस्पतालसम्म पुग्न सकेको छैन । उचित प्रचारप्रसार भएमा धेरै बिरामीले पुनर्जीवन पाउँछन् ।’
उपचारपछि कुलतमुक्त निश्चित
मनोचिकित्सकहरुका अनुसार अधिकांशले उपचार गराएर कुलतबाट छुटकारा पाइन्छ भन्ने अझै विश्वास गर्दैनन् । लामो समय नशा सेवन गरेर शारीरिक र मानसिक रुपमा बिरामी भएकाहरु आफूलाई बिरामी ठान्दैनन् । उनीहरु चिकित्सकको निगरानीमा उपचार गराउनसमेत हिच्किचाउँछन् । अस्पतालमा सफल उपचार हुनेबारे जानकारी नहुँदा धेरै बिरामी सुधार केन्द्रमा महँगो खर्च गर्न बाध्य छन् ।
अभिभावकहरुले पनि आफ्ना सन्तानलाई सुधार केन्द्रमा भर्ना गरिदिन्छन् । तर, त्यहाँ चिकित्सकको प्रत्यक्ष निगरानीमा चेकजाँच र औषधि उपचार हुँदैन । त्यसैले बिरामीहरु नशामुक्त भएर पुनःस्थापना हुनुको सट्टा पुनः लागुऔषधको लतमा फस्ने चिकित्सकहरुको अनुसन्धान र अनुभवबाट पुष्टि भएको छ । तर अस्पतालमा उपचार गराएको केही समयमा उक्त समस्याबाट छुटकारा पाइनेमा चिकित्सकहरु ढुक्क छन् ।
टिप्पणीहरू