नाइट क्लबहरु कमाउँछन्, सुको बुझाउँदैनन् : काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले डान्सबार, दोहोरी साँझ तथा नाइट क्लबहरुलाई मनोरञ्जन कर तिर्न ताकेता गरेको छ ।
यसअघि पनि पटकपटक कर बुझाउन लिखित तथा मौखिक जानकारी गराएपनि वेबास्ता गरेको भन्दै पुनः ३५ दिनको म्याद दिँदै महानगर राजस्व विभागले विभिन्न क्षेत्रका मनोरञ्जन व्यवसायीहरुलाई कर तिर्न अर्को ताकेता गरेको हो ।
विभागले झण्डै चार दर्जन नाइट क्लब, दोहोरी साँझ र डान्सबारलाई मनोरञ्जन कर तिर्न आग्रह गर्दै तोकिएको समयभित्र कर नतिरेमा महानगरको आर्थिक ऐनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
प्रदेश सरकारको आर्थिक ऐनमा दोहोरी साँझ, डान्स बार र नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था छ । सोहीअनुरुप महानगरले कर तिर्न निर्देशन दिइएको हो । तोकिएको समयावधिभित्र कर दाखिला नगरेमा आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने भनिएको छ ।
मनोरञ्जन कर नबुझाउनेमा ठमेलको ठमेल स्टार डान्सबार, मुजुरा डान्सबार, बियर बार डान्सबार, टप राजधानी दोहोरो, डान्सिङ याकबार, कलाईमेट क्लब, पोतला क्लब, टेन एक्स क्लबसहित नरसिंचोकस्थित टाकिला डान्सबार, क्विन महल डान्सबार, घाम छाया रोधी क्लब, डेला सोल बार, नमस्ते पप बार, साम्स बार, दुनियाँ बार, टिर्फिने बार, एचटु बार, द क्लब हाउस, ओलो क्लब, स्कुटी क्लब, बज डान्सबार, बेबो डान्सबार हुन् ।
यता, जेपी रोडस्थित रिफ्रेस डान्सबार, क्षेत्रपाटीको नटराज डान्सबार, पकनाजोलमा रहेको आरके डान्सबार, ज्याथास्थित चाहाना डान्सबार, अमृत मार्गको ड्रागन डान्सबार, चाकस्सिबारी मार्गस्थित अमिर डान्सबार, गाहिटीको एसीई क्लब, गलकोपाखास्थित गुन्यु चोली दोहोरी, अल्फबिटा बार, सात घुम्तीमा रहेको लाखे क्लब, फुलमुन क्लब र चेत भवनस्थित कराओक र सफर क्लबलाई पनि मनोरञ्जन कर बुझाउन भनिएको छ ।
टिप्पणीहरू