उताका प्रधानमन्त्री साइकलमा सरर

उताका प्रधानमन्त्री साइकलमा सरर
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी शुक्रबार संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । आजको दिनसम्म उहाँ नेतृत्वको सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीको मात्रै समर्थन छ । अन्यथा राजनीतिक परिस्थिति उत्पन्न नभएमा उहाँले नेकपा माओवादी केन्द्रको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० गरेर ६३ सांसदको समर्थन पाउने देखिन्छ ।

सत्तासाझेदार एमालेले गत साता समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको हो । त्यसपछि साना दलले पनि उहाँको साथ छाडेको घोषणा गरेका छन् । नेपाली काँग्रेस र एमालेमध्ये एकले समर्थन नगरेको अवस्थामा प्रधानमन्त्री दाहालले कुर्सी छाड्नुपर्ने निश्चित छ ।

त्यसो हुँदा शनिबार वा ढिलोमा आइतबार उहाँले प्रधानमन्त्रीको सरकारी निवास छाडेर सिंहदरबारबाट जिम्मेवारी मुक्त हुनुपर्ने हुन्छ । प्रधानमन्त्रीबाट बिदाई भएर ललितपुरको खुमलटार जाँदा उहाँ कसरी जानुहोला ? उत्तर स्वाभाविक छ, विगतमा उहाँलगायत अरु प्रधानमन्त्री जसरी जानुभएको थियो त्यसैगरी ।

ठीक यसैबेला नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट्टेले १४ वर्षको शासनसत्तापछि प्रधानमन्त्री कार्यालय र निवास छाडेका छन् । प्रधानमन्त्री कार्यालयमा आयोजित सत्ता हस्तान्तरण कार्यक्रमपछि मार्कले नयाँ प्रधानमन्त्री डिक स्कुफलाई प्रधानमन्त्रीको जिम्मेवारी बुझाए । त्यसपछि नयाँ प्रधानमन्त्रीले ढोकाबाट बिदाई गरेपछि उनी साइकल चढेर त्यहाँबाट बाहिरिएका थिए । 

डेढ दशक सत्तामा बसेको प्रधानमन्त्री घर फर्कंदा साइकल चढेर सामान्य नागरिक सरह सडकमा गुडेको हेर्न कार्यालयका कर्मचारी, सर्वसाधारणको भीड लागेको थियो । अघि र पछिल्तिर फोटो पत्रकार उनको तस्बिर कैद गर्न तल्लिन देखिन्थे ।
 

टिप्पणीहरू