एकछिनकाे रिस,जीवनभरलाई बिष

एकछिनकाे रिस,जीवनभरलाई बिष

मोरङको विराटनगरमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन् । विराटनगर-२ स्थित सडकमा गएराती दुई समूहवीच झडप भएको र कटहरी गाउँपालिका-१ घर भएका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । सोही ठाउँकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते भएका छन् । 

राती साढे १० बजेतिर तीनै जना सडकमा घाइते भएर छट्पटाइरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए । उनले जनआस्थासँग भने, ‘तीनै जना बाटोमा घाइते भएर छट्पटाइरहेको अवस्थामा हाम्रो टोलीले फेला पारेको हो ।’ 

उनका अनुसार प्रहरीले तत्काल उद्धार गरेर अस्पताल लैजाँदै गर्दा कामतको मृत्यु भयो । उनको छाती र पेटमा चक्कुले बारम्बार प्रहार गरिएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा रहेका अमनको कोखा र ढाडमा चक्कु प्रहार गरेको घाउ छ भने विक्रमको ढाड र पाखुरामा पनि चक्कुकै चोट छ । 

अहिलेसम्म घटना के कारणले घटेको हो भन्नेबारे विस्तृत नखुलेको एसपी कार्कीले बताए । यद्यपि, ग्याङ फाइटमा संलग्न भएकाहरु सबै युवा उमेरका भएकाले क्षणिक इगो र आक्रोशको कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘उनीहरुले मदिरा सेवन गरेको पनि देखिएन,पुरानो सम्बन्ध वा दुश्मनी पनि देखिएको छैन । एकछिनको रिसले यो सबै भएको हो कि भन्ने छ, हामी अनुसन्धान गरिरहेका छौ’, एसपी कार्कीले थपे । 
  
घटनामा संलग्न चार युवकलाई नियन्त्रणमा लिइएको र अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

उता घाइते भएका अमन र विक्रमलाई टिचिङ अस्पतालबाट थप उपचारका लागि नोबेल अस्पताल रिफर गरिएको छ । उनीहरुको परिवारलाई खबर गरेर अस्पताल बोलाइएको प्रहरीको भनाई छ ।
 

टिप्पणीहरू