ढुवानी व्यवसायीलाई प्यान कार्ड अनिवार्य, अन्यथा कारबाही

ढुवानी व्यवसायीलाई प्यान कार्ड अनिवार्य, अन्यथा कारबाही

सरकारले ढुवानी व्यवसायीलाई स्थायी लेखा नम्बर (प्यान कार्ड) अनिवार्य गरेको छ । आन्तरिक राजस्व विभागले प्यान कार्ड लिएर मात्रै कारोबार गर्न निर्देशन दिएको छ । 

ढुवानी साधन (ट्रक, ट्रिपर, ट्याक्टर) का कतिपय धनीले अहिलेसम्म पनि प्यान कार्ड नलिएको पाइएपछि उक्त निर्देशन दिइएको हो । जारी सूचनामा उल्लेख छ, ‘ढुवानीका साधन (ट्रक, ट्रिपर, ट्याक्टर आदि) को धनी स्वयंले ढुवानी व्यवसाय सञ्चालन गरेका केही व्यवसायी र ढुवानीका साधन धनी स्वयंले ढुवानी व्यवसाय सञ्चालन नगरी अर्को व्यक्ति वा संस्थालाई भाडामा उपलब्ध गराउने गरेका केही ढुवानी साधनका धनीहरुले हालसम्म पनि स्थायी लेखा नम्बर नलिएको भन्ने जानकारी प्राप्त हुन आएकोले यथाशीघ्र स्थायी लेखा नम्बर लिई कारोबार गर्नुहुन जानकारी गराइन्छ ।’

आयकर नियमावली, २०५९ को नियम २३ ले निर्धारणयोग्य आयआर्जन गर्न चाहने व्यक्ति, विभागले स्थायी लेखा नम्बर लिनुपर्ने तोकेको छ । त्यस्तै, आयकर ऐन, २०५८ को परिच्छेद–१७ अन्तर्गत करकट्टी गर्नुपर्ने जुनसुकै व्यक्तिले त्यस्तो आयआर्जन गर्नु वा करकट्टी गर्नुअगावै स्थायी लेखानम्बर लिनुपर्ने व्यवस्था छ ।
 
सोहीअनुरुप विभागले स्थायी लेखा नम्बर नलिएका ढुवानी व्यवसायीहरुलाई यथाशीघ्र लिन र कानूनी व्यवस्थाको बर्खिलाप गरेमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

टिप्पणीहरू